काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्याउने नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सवमा उनले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने बैंकको प्रयास रहेको बताए । उनका अनुसार पछिल्लो समय पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक छ ।
पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतारचढावले विश्व अर्थतन्त्र प्रभावित भएको उनले बताए ।
कार्यक्रममा पूर्वगर्भनर डा युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादनशील नै रहेको बताए । उनले बाहिरी स्रोतले केही आर्थिक स्थितिमा सुधार देखिए जस्तो लागे पनि वास्तवमा त्यो दीर्घकालीन नभएको बताए ।