काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन ल्याउन सकिने बताएकी छिन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारण सभा तथा स्थापना दिवस समारोह उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन महिलाहरू सशक्त बन्नुपर्ने धारणा व्यक्त गरेकी हुन् ।
आर्थिक रूपमा सबल नहुँदा सम्म महिलाहरूले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उनले संविधानमा उल्लेखित भएका अधिकारहरू सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा उनको जोड छ ।
महिला उद्यमी र व्यवसायीहरूलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उनले भनिन्, ‘तपाईंहरूले तिरेको करबाट राज्य संयन्त्र चलेको छ । त्यो कर कहाँ र कसरी सदुपयोग भएको छ । त्यसबारेमा पनि चासो लिने गर्नुस् ।’


आम महिलाको बारेमा नीतिगत रूपमा राज्यले र व्यावहारिक रूपमा समाजले समान धारणा बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने विचार उनको छ ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिकी अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको बताइन् । महिलालाई उद्यमशील बनाउन तालीमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा उनले जोड दिइन् ।

नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै उनले मुलुकको समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्तीकरण गर्नुपर्ने आवश्यकता औंल्याइन् । महिलाहरू आर्थिक रूपमा सशक्त भएकै कारण महिलामाथि हुने हिंसा कम हुँदै गएको भन्दै उनले पछिल्ला दिनमा महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको धारणा व्यक्त गरिन् ।

यस्तै, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोबाबु श्रेष्ठले हिजोका दिनमा संघबाट सुरू भएको महासंघ सातै प्रदेशमा पुगेको र महासंघअन्तर्गत महिला उद्यमी समिति पनि सक्रियताका साथ अगाडि बढेकोमा खुसी व्यक्त गरे । महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा संगठनका सबै पदाधिकारीहरू सफल हुनु भएको भन्दै यसलाई मनन गरेर सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहिँकतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता श्रेष्ठले व्यक्त गरे ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मधुबहादुर कार्की, निवर्तमान अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव विवेक दास श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका सदस्य प्रभा घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघ केन्द्रीय महिला उद्यमी समितिका सदस्यहरू अनिता प्रधान अमात्य, अम्बिका बस्नेत, विमला कुवँर शेख, मिश्रीमाया श्रेष्ठ, रजनी श्रेष्ठ, शोभा श्रेष्ठ, सुनकेशरी श्रेष्ठ र तारा बुढाथोकीलाई सम्मान गरिएको थियो ।