काठमाडौं । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो ।
लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । सङ्गीत लेखु सहयात्रीकै छ । गीतको भिडिओमा नाजिर हुसेनको नृत्य छ । महिलाको भेसमा रहेका उनले गज्जबको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडिओमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
निर्माण टिमले चलचित्र रिलिज डेट पनि घोषणा गरेको छ । ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुनेछ । समुद्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ लैङ्गिक अल्पसङ्ख्यक पारलैङ्गिक पात्रको कथामा बनेको छ ।
‘गुन्यु चोलो : द ड्रेस’ मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारलैङ्गिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन् ।
नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।
चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्शनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउण्ड डिजाइनदेखि ब्याकग्राउण्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउण्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर–२’ मा लिजाले स्वर दिएकी थिइन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्शन हाउस र हलिउड फिल्म प्रोडक्शन हाउसको संयुक्त कोल्याबोरेशनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना छ । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको थियो ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS