काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका प्रमुख राष्ट्रिय समस्याहरू समाधान नगरी निर्वाचन प्रक्रियामा जानु उपयुक्त नहुने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हिजो बुधबार भिडिओ सन्देश जारी गर्दै उनले देश अहिले गम्भीर सङ्कटको अवस्थामा पुगेको दाबी गर्दै राष्ट्रिय समस्याहरू समाधान गरेर मात्रै निर्वाचन प्रक्रियामा जानु उपयुक्त हुने धारणा सार्वजनिक गरेका हुन् । वर्तमान परिस्थितिमा द्वन्द्व, अशान्ति र राजनीतिक खिचातानी नबढ्ने गरी राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्नेमा उनको जोड छ ।
पूर्वराजा शाहले देशको अस्मिता नै संकटमा परेको उल्लेख गर्दै विभिन्न राजनीतिक परिवर्तनहरूले नेपाल र नेपालीलाई के उपलब्धि दिए भन्ने विषयमा आत्मसमीक्षा गर्ने समय आएको बताएका छन् । नेपाली समाजमा आपसी वैमनस्य बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै विपन्नता र अस्थिरता नै वास्तविक शत्रु भएको उल्लेख गरे । उनले भनेका छन्, ‘एउटा नेपालीले अर्को नेपालीलाई बैरी ठान्ने प्रवृत्ति बढ्नु दु:खद हो, जसका कारण देश कठिन अवस्थामा पुगेको छ ।’
उनका अनुसार वर्तमान परिस्थितिमा परस्पर द्वन्द्व र घृणा अन्त्य गर्दै संवैधानिक व्यवस्था र प्रक्रियालाई मजबुत बनाउनु आवश्यक छ। प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको जनभावना अनुसार पहिले राष्ट्रिय समस्याको समाधान खोजी राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचनमा जानु उचित हुने उनले बताएका छन् ।
पूर्वराजा शाहले अधिकार मात्र खोज्ने तर कर्तव्यप्रति बेवास्ता गर्ने प्रवृत्ति समाजमा बढ्दै गएको टिप्पणी गर्दै जिम्मेवारीबोधसहितको राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

भिडियो हेर्नुहोस्–


खराब पक्ष भएको व्यवस्थालाई फ्याँक्नुपर्छ : पूर्वराजा
FACEBOOK COMMENTS