काठमाडौं । अष्ट्रेलियाबाट सुरु गरिएको पहिलो नेपाली टक शो ‘ह्याप्पी शो अष्ट्रेलिया’ औपचारिक रूपमा सार्वजनिक भएको छ ।
विजय लुइटेलको नेतृत्वमा सुरु गरिएको यो कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली समुदायको आवाज बुलन्द पार्ने सशक्त माध्यम बन्ने लक्ष्य लिएको छ।
शोमा अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको प्रेरणादायी सफलताको कथा, व्यक्तिगत संघर्षका अनुभव र समुदायसँग सम्बन्धित महत्वपूर्ण विषयवस्तुहरू समेटिनेछन् ।
हाल अष्ट्रेलियामा झन्डै २ लाख नेपालीहरूको बसोबास रहेको सन्दर्भमा यो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको अनुभव र उपलब्धिलाई उजागर गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमका सर्जक विजय लुइटेलका अनुसार, ‘ह्याप्पी शो अष्ट्रेलिया’ ले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन शिक्षा, रोजगारी, आप्रवासन र संस्कृतिसम्बन्धी उपयोगी जानकारी समेत प्रस्तुत गर्नेछ। शोमार्फत नेपाली समुदायबीच आपसी सम्बन्धलाई बलियो बनाउने, व्यक्तिहरूलाई सशक्त पार्ने र दुबै देशमा रहेका नेपालीलाई संवाद र सूचनामार्फत जोड्ने प्रयास गरिने उनले बताए।

‘ह्याप्पी शो अष्ट्रेलिया’ युट्युब च्यानल ‘Happy Show Australia’ मार्फत हेर्न सकिने छ।
