काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिका लागि ३ दिनभित्र नाम दिन दलहरुलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाका १२ समितिमध्ये १० वटा समितिमा रहने सदस्यहरुको नाम यसअघि नै टुंगिसकेको छ। संसद्को हिउँदे अधिवेशनको अन्तिम बैठक (वैशाख १५ गते, शुक्रबार) नै सभामुख घिमिरेले समितिमा रहने सांसदहरुको नाम पढेर सुनाएका थिए।
अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानवाधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिका सदस्यहरुको नाम पढेर सुनाइएको थियो।
तर २ वटा संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य रहने) समितिमा रहने प्रतिनिधि सभा सदस्यको नाम भने टुंग्याइएको छैन। संसदमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यको प्रतिनिधित्व रहन्छ।
संघीय संसद्को वर्षे (बजेट) अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। बजेट अधिवेशनअन्तर्गत अपराह्न ४ बजेदेखि बैठक बस्नु अगाडि बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख घिमिरेले सुनुवाइ समितिका सदस्य र अन्य समितिको नेतृत्व पनि ३ दिनभित्र टुंग्याउनुपर्ने बताए।

‘संसदीय सुनुवाई समितिसहित २ संयुक्त समिति ३ दिनभित्र टुंग्याउनुपर्छ। समितिको नेतृत्व पनि यही बीचमा टुंग्याउँ,’ उनले भने।

संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश लगायत निकायमा हुने नियुक्तिको सिफारिस हुन सकेको छैन।