काठमाडौं । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचारको दायारा एक लाखबाट बढाउने भएको छ ।
हालै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष बनेका डा. गुणराज लोहनीले योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको दायारा बढाउने तयारी बढाएको जानकारी दिए ।
बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।
पछिल्लो समय स्वास्थ्य सेवा आएको महंगीका कारणले नागरिकले पाउने सुविधा कम हुँदै जाँदा त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको डा. लोहनी बताउँछन् ।
बोर्डले उपचारका दायारा कुन मोडलमा बढाउने भन्ने विषयमा बोर्डका सदस्यलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न र विज्ञसँग राय लिने काम गरिरहेको छ ।
उनले भने, ‘कस्ता–कस्ता खालका प्याकेज ल्याउँदा सहज हुन्छ भनेर हामीले सुझाव पनि मागेका छौं । प्रतिक्रिया आइरहेको छ । दुई महिनाभित्रमा यसले पूर्णता पाउँछ ।’
पछिल्लो समय मुटु, क्यान्सर, मिर्गौला जस्ता नसर्ने रोगका कारण नागरिकले उपचारको क्रममा घरखेत नै बेच्नुपर्ने अवस्था छ ।
डा. लोहनीका अनुसार नागरिकलाई उपचारमा बढि भार परेको रोगलाई लक्षित प्याकेज राखेर पनि दायारा बढाउने योजना छ ।
डा. लोहनीले भने, ‘धेरै आवश्यक भएका रोगमा बीमाको दायरा बढ्छ । जस्तै, मुटु, क्यान्सर लगायतमा छुट्टै प्रिमियम राख्ने कि ? एक लाखको दायरा पाँच लाख पुर्याउने कि ?३५०० बाट प्रिमियमबाट ५ हजार पुर्याउने जस्ता विषयमा होमवर्क गरिरहेका छौं । बीमा बोर्डले अहिलेको अवस्थामा बढाउन सक्ने जति दायरा विस्तार गर्छ ।’
यस्तै, सुविधा थैली औषधीको पुनरावलोकन गरेर एक महिनामा लागु गर्ने, सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत गरी स्वास्थ्य बिमामार्फत व्यवस्थापन गर्ने तयारी पनि बोर्डको छ ।
FACEBOOK COMMENTS