काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बलात्कार कस्तो अवस्थालाई मान्ने कानुनी ब्याख्या आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका भण्डारीले प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन, त्यसको परिभाषा आवश्यक रहेको बताएका हुन्।
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणि आइरहेका बेला सांसद भण्डारीले प्रेम र बलात्कारको कानुनी स्पष्टता खोजेका हुन्।
‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी ब्याख्याको आवस्यकता छ’ उनले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम? र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता!’
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कारी ठहरसहित आठ वर्ष जेल सजायको फैसला सुनाएको छ। सन्दीपले ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति पनि भराउनुपर्ने भएको छ।
