विराटनगर । खोटाङको कपिलासगढी गाउँपालिकामा–२ खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका घाइते एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।
अर्को हेलिकप्टर मगाएर घाइते काजीबहादुर राई र चालकलाई काठमाडौं पठाइएको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।
काठमाडौंमा स्थानीय मनलसी राईको निधन भएको र पारिवारिक संस्कारका लागि श्रीमान्, छोरा, सहित चर्चका पास्टर हेलिकप्टरमा खोटाङ आएका थिए । मनलसीको शव भने भोलि ल्याउने तयारी रहेको बताइएको छ ।
पास्टर काजीबहादुर गम्भीर घाइते भएको कपिलासगढी गाउँपालिका–२ का वडाध्यक्ष मिलन राईले बताए । बारीमा अवतरणका क्रममा हेलिकप्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता ज्ञानेन्द्र भुलले बिहान ११:५१ मा एयर डाइनेष्टी ‘९ एन–एएफक्यू’ को हेलिकप्टर दुर्घटना भएको बताए । उनका अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । एकजनालाई सामान्य चोट लागेको छ ।


FACEBOOK COMMENTS