काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यलाई सहयोग गरेको छ ।
लघुवित्त संस्थाले सञ्चालक समितिदेखि कर्मचारीहरूबाट सहयोग संकलन गरेर पीडित सदस्यहरुलाई नगद सहयोग गरेको जनाएकाे छ ।
सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त लम्साल पीडितको घरसम्मै पुगेका थिए । सीईओ लम्सालका अनुसार जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकाको रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिम जिल्लाको आठविसाकोट गाउँपलिकासम्म पुगेर राहत वितरण गरिएको हो ।
भूकम्प पीडितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीहरुले एक दिनको तलब गरी करिब ६ लाख रुपैयाँ योगदान गरेका थिए । सञ्चालक समिति र कर्मचारीहरुबाट संकलित रकमममा नपुगेको रकम संस्थाले हालेर करिब १५ लाख रुपैयाँ सहयोग गरिएको सीईओ लम्सालले जानकारी दिए । उनका अनुसार पीडितलाई वर्गीकरण गरी परिवारका सदस्य निधन भएको सदस्यलाई २० हजार रुपैयाँसम्मका दरले वितरण गरिएको छ ।
साविकको विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर गत ३१ असारमा विजय लघुवित्त वित्तीय संस्था बनेको थियो । विजय लघुवित्तका देशभर १४७ शाखा सञ्जाल छन् भने करिब १,४३,००० ग्राहक सदस्यहरु रहेका छन् । जाजरकोटमा मात्रै खलंगा र बारेकोट गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
FACEBOOK COMMENTS