काठमाडौं । जेन जीका अगुवाहरूले चर्चित सामाजिक अभियन्ताको पहिचान बनाएका हेमराज थापालाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्वसमेत हुनेगरी उनलाई मन्त्री बनाउन सिफारिस गरिएको हो । जेन जी अगुवा मदन बुढासहितको टोलीले केही दिनअघि नै थापाको नाम प्रधानमन्त्री सुशीला कार्कीलाई थमाइसकेका छन् ।
जेन जी आन्दोलनका अगुवाहरूले नै उनको नाम प्रधानमन्त्री कार्यालय पुर्याएका कारण मन्त्रिपरिषद् विस्तारको आगामी चरणमा उनको सपथग्रहण हुने अनुमान गर्न सकिन्छ । स्रोतका अनुसार थापालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने तयारी छ ।
जेन जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको र अहिलेसम्म मन्त्रिपरिषदमा सुदूरपश्चिमका एक जनाको पनि प्रतिनिधित्व नरहेको सन्दर्भमा हेमराजलाई मन्त्री बनाउने आवाज बलियो ढङ्गबाट उठेको छ । सुदूरपश्चिमलाई जनप्रतिनिधिविहीनताको अवस्थाबाट मुक्त गर्न पनि थापालाई मन्त्री बनाउनुपर्ने तर्क सुदूरपश्चिमेलीहरूको छ । प्रधानमन्त्री सुशीला कार्कीले तीनपटक मन्त्रिपरिषद् विस्तार गर्दासम्म सुदूरपश्चिमबाट कसैलाई पनि मन्त्री नबनाइनु ‘हेपाहा प्रवृत्ति’ भएको उनीहरूको तर्क छ ।
मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सुदूरपश्चिमका मात्रै नौ जनाले ज्यान गुमाएका छन् । आन्दोलनका क्रममा २०० जना भन्दा बढी घाइते भएका छन् भने त्यसमध्ये केही अझै उपचाररत छन् । त्यस क्रममा सुदूरका नौ जिल्लामा अर्बाैंको भौतिक क्षतिसमेत भएको छ ।

को हुन् हेमराज ?

सुदूरपश्चिमको पनि विकट जिल्ला बाजुरामा जन्मिएका हेमराज युवा तथा विद्यार्थी नेता हुन् । लामो समयदेखि सामाजिक कार्यहरूमा क्रियाशील रहँदै आएका उनी पछिल्लो समय सामाजिक अभियन्ताको पहिचानबाट परिचित छन् ।

समाजमा देखिएका विभिन्न खालका विकृति, विसङ्गति र अन्यायकाविरुद्ध सशक्त आवाज उठाउँदै आएका उनी करिब १० वर्षदेखि समाज रुपान्तरणको आन्दोलनमा निरन्तर सरिक हुँदै आएका छन् । यस क्रममा उनले २० पटक भन्दा धेरै पक्राउ खान परेको थियो । सामाजिक न्याय, पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो एक मात्र लक्ष्य रहेको उनी बताउँछन् ।

आफूले वर्षौँदेखि उठाउँदै आएको मुद्दामा जेन जीले ‘मास लिडरसिप’ लिएकामा खुसी व्यक्त गर्दै भने, ‘मैले वर्षौँदेखि यही विषयमा आफ्नो आवाज बुलन्द पार्दै आएको थिएँ । अहिले जेन जीले मूर्तरूप दिने प्रयास गर्यो, तर अझै ढुक्क हुने स्थिति बनेको छैन,’ उनले भने, ‘हामी सचेत र सजग भएर अघि बढ्नुपर्छ ।’

अहिले पनि विभिन्न अस्पतालमा रहेका जेन जी आन्दोलनका घाइतेहरूलाई अस्पतालमै पुगेर आवश्यक सहयोग गरिरहेका उनी काम गर्न मन्त्री नै बन्न नपर्ने बताउँछन् । ‘देश र जनताको पक्षमा काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन । मेरो प्राथमिकतामा मन्त्री पर्दैन,’ उनले भने, ‘मेरो दाइभाइको रगत बगेको छ, म असाध्यै भावुक छु र मैले जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्छ, देशको चिन्ता गर्नुपर्छ । मन्त्रीका लागि लोभिपापी भएर लड्ने समय होइन । जिम्मेवार नागरिक भएर देश र जनताको पक्षमा सोच्ने समय हो ।’
जेन जीले आफ्नो नाम मन्त्रीका लागि सिफारिस गरेको सूचना प्राप्त भएको तर, प्रत्यक्ष जानकारी केही नभएको उनले बताए । ‘अहिले जेन जी भाइबहिनीहरूले मेरो नाम पनि मन्त्रीका लागि पठाउनुभएको भन्ने सूचना छ । अहिलेसम्म प्रधानमन्त्रीज्यूसँग मेरो यसबारे कुनै कुरा भएको त छैन । तर, नाम ‘रिकमेण्ड’ गर्नुभएकामा उहाँहरूलाई धेरै धन्यवाद छ,’ उनले भने, ‘राज्यको तहबाट गरिनुपर्ने कतिपय कामहरू मैले मेरो हैसियतअनुसार बाहिरै बसेर पनि गरिरहेको छु, यदि उचित ठानेर त्यस्तो कुनै जिम्मेवारी प्राप्त भएको खण्डमा अवश्य पनि अझ धेरै काम गर्ने छु ।’
त्रिभुवन विश्वविद्यालय (टीयू) बाट राजनीति शास्त्र र शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर गरेका उनले आफूलाई स्पष्ट वक्ता, सरल स्वभाव र जनमुखी सोच भएको व्यक्तित्वका रूपमा पनि उभ्याउन सफल भएका छन् । उनको त्यो शैलीका कारण युवापङ्क्तिबीच लोकप्रियसमेत छन् । वैदेशिक रोजगारीलगायत विभिन्न कारणले विदेशमा पुगेर फसेका सयौँ नेपाली युवायुवतीहरूको उद्दार गरेर मानवीयताको नौलो उदाहरण पनि समाजमा प्रस्तुत गरेका छन् । यत्तिका ऊर्जाशील युवालाई मन्त्रीको जिम्मेवारी दिएर उनको क्षमताको सदुपयोग गर्नुपर्ने सुदूरपश्चिमेलीहरूको भनाइ छ ।
‘मिडिया ट्रायल’मा के होलान् ?
विगतमा राजनीतिक नेतृत्वले सरकार गठन गर्दा सम्बन्धित दलहरूले मन्त्री छनोट गर्ने र आएका नामलाई प्रधानमन्त्रीले चुपचाप नियुक्त गर्ने चलन थियो । त्यस्तोमा कुन खराब वा कुन राम्रो भनेर प्रश्न उठाउने चलन अपवादमा मात्रै हुन्थ्यो । नत्र गठबन्धन जोगाउन मुश्किल ।
तर, अहिले प्रतिनिधि सभाको जोडघटाउ र राजनीतिक दलको छायाँभन्दा बाहिरबाट सरकार बनाइएको छ । यो सरकारमा मन्त्री बन्न अत्यन्तै निष्कलङ्क र निष्कपट व्यक्ति चाहिन्छ । अलिकति पनि तलमाथि पर्यो कि ‘सोसल अडिट’ले समाइहाल्छ र सपथअघि नै नाम काट्न प्रधानमन्त्री बाध्य हुनुपर्ने अवस्था छ ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले तीन जनाको नाम त्यसरी काटिसकेकी छिन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी पाउन लागेकी डा. संगीता मिश्रा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पाउन लागेका खगेन्द्र सुनार र भूमि सुधारमन्त्रीको जिम्मेवारी पाउन लागेका गणपतिलाल श्रेष्ठको नाम काटिएको थियो ।
सिफारिसमा परेका उनीहरूको नाम अन्तिम समयमा आएर काटिनुमा सञ्चारमाध्यमहरूमा आएका समाचारहरू कारक बनेका थिए । यी तीनमध्ये डा. मिश्रा र सुनारलाई मुद्दामामिलाले विवादित बनाएको थियो भने श्रेष्ठले अन्तिम समयमा मन्त्रालय हेरफेर गरिएको भन्दै सपथ नलिएको बताइएको छ । मन्त्री सिफारिस हुनेबित्तिकै उसका खराब पक्षहरूको उद्घाटनमा सञ्चारमाध्यमहरू केन्द्रित भइरहेको परिप्रेक्ष्यमा हेमराज थापाले पनि त्यो ‘मिडिया ट्रायल’ को सामना गर्नुपर्ने अवस्था छ ।
यद्यपि, जेन जीहरूले उनको नाम सिफारिस गरेको करिब एक साता हुन लागिसकेको छ । यो अवधिमा उनका खराब पक्षहरूको उद्घाटन भन्दा पनि सुदूरपश्चिमको भावानात्मक प्रतिनिधित्वको कोणबाट सकारात्मक विषयहरू आइरहेका छन् । बरु चाँडो मन्त्री नियुक्त गरी सुदूरपश्चिमलाई जनप्रतिनिधिविहीनताबाट मुक्त गर्न दबाब बढाउँदै लगेका छन् ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS