काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकामध्ये थप दुई जनाको शव फेला परेको छ।
सोमबार खोजी तथा उद्धारमा खटिएको टोलीले थप दुई जनाको शव निकालेको हो।
नेपाल राष्ट्रिय पर्वत आरोहण पथप्रदर्शक संघ (एनएनएमजीए) का अनुसार फेला परेका शव वीरेन्द्र गुरुङ र घनश्याम राईका हुन्।
यसअघि आइतबार सोही टोलीले सङ्खुवासभाका छेबी भोटे र पासाङ भोटेको शव फेला पारेको थियो। उनीहरूको शव काठमाडौं ल्याइसकिएको छ। योसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या कम्तीमा चार पुगेको छ।
आइतबार बिहान गएको हिमपहिरोका कारण हिमलुङ क्षेत्रमा १६ जना नेपाली आरोही तथा सहयोगी सम्पर्कविहीन भएका थिए।

एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार इम्याजिन नेपाल प्रालिका दुई जना र हिमालयन होलिडेज नेपालका १४ जना सम्पर्कविहीन भएका छन् ।

मौसम खुलेसँगै सोमबार बिहानैदेखि हेलिकप्टर परिचालन गरी खोजी तथा उद्धार कार्य अघि बढाइएको थियो। प्रभावित क्षेत्रमा खोजी जारी छ ।