आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा आइतबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्साल, काठमाण्डौँमा सम्पन्न भएको छ ।
साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । जीवनमा आइपर्ने विपद् र जोखिम अनपेक्षित र अनिश्चित हुने र आफूले दुःख गरेर आर्जन गरेको सम्पत्ति होस् या कुनै व्यवसाय सम्भावित जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो माध्यम नै निर्जीवन बीमा रहेको उनले बत़ाए । यसै यथार्थलाई मध्यनजर गर्दै विगत दुई दशकभन्दा लामो समयदेखि यस आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरूको न्यूनीकरण गर्न सहजकर्ताको भूमिका खेलिरहेको र समग्र अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जानकारी दिए ।
उक्त अवसरमा ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ४१.४७ अरब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् जुन गत आवभन्दा २.८ प्रतिशतको वृद्धि हो । साथै आव २०८०/०८१ मा कूल गार्हस्थ्य उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कुल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । सो सूचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रस्ट देखिएको जानकारी गराउँदै समीक्षा वर्षमा यस कम्पनीले ३.६३ अरब बीमाशुल्क आर्जन गरी गत वर्षको दँजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।
त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९ लाख ६१ हजार ५सय ३० रुपैयाँ (कर प्रयोजनार्थसहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।
कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिनाभित्र सकिने अपेक्षा रहेको र यसैगरी कम्पनीले आगामी वर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने शेयरधनीहरूलाई जानकारी गराए । कम्पनीले २७औँ साधारण सभासमक्ष पेस गरेको सबै साधारण तथा विशेष प्रस्तावहरू सभाले कर्तल ध्वनिका साथ स्वीकृत गरेकामा सबै शेयरधनीहरूलाई धन्यवाद व्यक्त गरे ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरूलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहकहरू, लगानीकर्ता, नियमनकारी निकायहरू र सहकर्मीहरूको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रूपमा स्थापित भइरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने वाचा व्यक्त गरे । लगानीकर्ताहरूको भावना र सञ्चालक समितिको निर्देशनले अगाडि बढिरहेको पनि उनले बताए ।
बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्याउने हेतुले सातवटै प्रदेशमा रहेका ६९ वटा शाखा तथा उपशाखा र १४ वटा सेवा काउण्टरहरू गरी ८३ स्थानमा आफ्नो बलियो उपस्थितिसहित ५०१ जना कर्मचारीहरू रहेका छन् भने ४५.७९ प्रतिशत महिला कर्मचारी रहेको, ४०० अभिकर्ताहरू र १९१ सर्भेयरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जानकारी गराए । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा हासिल गरेको बीमा प्रिमियम रकम ३ अरब ३९ करोड ४५ लाख रुपैयाँमा ७.१२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा ३ अरब ६३ करोड ६१ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गर्न सफल भएको छ ।
त्यसैगरी नेपाल सरकारलाई गत आवमा विभिन्न करबापत कुल ५९ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेकोमा समीक्षा वर्षमा ३५.८० प्रतिशतले वृद्धि गरी ८० करोड ५० लाख रुपैयाँ राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याएको शेयरधनीहरूलाई जानकारी गराए ।
श्रेष्ठले कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरू, आन्तरिक लेखा परीक्षणलगायत बीमा प्राधिकरणबाट समय–समयमा प्राप्त निर्देशनहरूको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइएको बताए । कम्पनीसँग भएको साधन र स्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा सचारमा विशेष ध्यान दिएको उनले बताए ।
नेपाल बीमा प्राधिकरणलगायत कम्पनीको नियमानकारी निकायहरूबाट समय–समयमा जारी हुने निर्देशनलाई विशेष महत्त्वका साथ परिपालन गर्दै कम्पनी अगाडि बढिरहेको छ । त्यसैगरी चुक्ता पुँजीको अनुपातमा कम्पनीले बीमा बजारमा आफ्नो स्थानलाई सुरक्षित गर्ने गरी गुणस्तरीय व्यावसायमा विषेश ध्यान दिँदै आएको, जसबाट चालु आवमा निर्जीवन बीमा बजारमा कम्पनी चौथो स्थानमा रहेको र यसलाई अझै स्तरोन्नति गर्दै लाने गरी कार्यहरू भइरहेको जानकारी गराए ।
सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २७औँ वार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरू दिने शेयरधनीहरूको आत्मीयता, न्यानो माया र विश्वासप्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल बीमा प्राधिकरणलगायत नियमक निकायहरू तथा ग्राहकहरूप्रति धन्यवाद व्यक्त गरे ।
FACEBOOK COMMENTS