काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकको सञ्चालक समितिकी सदस्य इला शर्माको निधनले बैंकलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ ।
निर्वाचन आयोगकी पूर्वआयुक्तसमेत रहेकी शर्माको हिजो शनिबार हृदयघातका कारण निधन भएको थियो । स्वास्थ्यमा अचानक अहसजता महसुस भएपछि नर्भिल अस्पताल लगिएकी उनको उपचारका क्रममा त्यहीँ निधन भएको हो ।
उनको पार्थिव शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकका अध्यक्ष प्रबलजङ्ग पाण्डे, सञ्चालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत बैंकका व्यवस्थापन समूहहरू, शेयरधनी र कर्मचारीहरूले पुष्पमाला अर्पण गरी अन्तिम बिदाइ गरे ।
शर्मा विगत एक वर्षदेखि सिटिजन्स बैंकको समिति सदस्य थिइन् । उनले कानुनमा विशेष अनुभव सँगालेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेशनल ल एण्ड ह्युमन राइट्समा एलएलएम गरेकी थिइन् । साथै, युनिभर्सिटी अफ हल यूकेबाट पनि इन्टरनेशनल बिजनेश ल, इन्टरनेशनल ट्रेड एण्ड डेभलपमेण्टमा एलएलएम गरेकी थिइन् ।
उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानुन, जनसम्पर्क, शिक्षा र विकासलगायत क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव थियो । निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत थिइन् ।
FACEBOOK COMMENTS