काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्र १ खर्ब ८७ अर्बको वस्तु आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा नेपालले १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान आयात गरेको हो ।
यो गत आर्थिक वर्षको साउनको तुलनामा ३१.४ प्रतिशत बढी हो।
साउनमा मात्रै आयात र निर्यातबीचको अन्तर करिब १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०८२/८३ को सोही अवधि साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।

एक वर्षको अवधिमा आयातको मूल्यमा करिब ४४ अर्ब ४० करोड रुपैयाँको वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।
आयातसँगै नेपालको निर्यात पनि उल्लेख्य मात्रामा सुधार भएको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ ।
यो भनेको गत आर्थिक वर्षको साउनको तुलनामा ६१.७२ प्रतिशतले बढी हो।
गत वर्षको साउनमा नेपालले २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो। एक वर्षमै निर्यात करिब १४ अर्ब ७७ करोड रुपैयाँले बढेको तथ्याङ्कले देखाउँछ ।
आयातभन्दा निर्यातको वृद्धि दर दोब्बर
भन्सार विभागको तथ्याङ्कले चालु आर्थिक वर्षको साउनमा निर्यातको वृद्धिदर आयातको भन्दा दोब्बर देखाएको छ ।
आयात ३१.४ प्रतिशतले बढ्दा निर्यात भने ६१.७२ प्रतिशतले बढेको छ।
तर विडम्बना, निर्यात बढेपनि कुल व्यापारको आकार हेर्दा नेपाल अझै पनि आयातमा निर्भर छ।
चुनौती भने उस्तै
साउनको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारको आकार फराकिलो हुँदै गएको देखाए पनि व्यापार घाटा र आयात निर्भरता नेपालको प्रमुख चुनौती हो ।
आयात बढ्नु मात्र नभई स्वदेशी उत्पादन बढाएर निर्यातको हिस्सा अझ विस्तार गर्नु पनि अर्को चुनौती हो । त्यसैले निर्यातको वृद्धिदरलाई निरन्तरता दिन सके मात्रै नेपालको व्यापार घाटा क्रमशः कम गर्न सकिन्छ ।