काठमाण्डौ । चितवनको खैरहनी नगरपालिका–०१, तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब १२:२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो ।
मृतकहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ । बस चालक सर्लाहीको हरिवन नगरपालिका–०८ निवासी ५१ वर्षीय अजयकुमार मास्के रहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
