काठमाडौं । चितवनको सौराहास्थित रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता पाएको छ।
पर्यटन विभागले स्थलगत निरीक्षण गरेपछि रिसोर्टलाई उक्त मान्यता दिएको हो।
केटिएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित रिसोर्टले करिब तीन साताअघि स्तरीकरणका लागि पर्यटन विभागमा निवेदन दिएको थियो।
विभागको टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा–सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको निरीक्षण गरेको थियो।
तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि पाँचतारे डिलक्स मान्यता प्रदान गरिएको कम्पनीले जनाएको छ।

रिसोर्टमा ६५ वटा कोठा छन्। रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याडलगायतका सुविधा रहेको रिसोर्टले जनाएको छ।

रिसोर्टमा ’तनावीबार’ र मध्यरात मनोरञ्जनका लागि ’स्पोट्र्सबार’ समेत सञ्चालनमा छन्।

अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौतामा सञ्चालन भइरहेको रिसोर्टले सन् २०२५ जुलाईदेखि सफ्ट ओपनिङ सुरू गरेको थियो।
यसैबीच, केटिएम हस्पिटालिटीले आइपिओ निष्कासनको तयारीसमेत अघि बढाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।