काठमाडौं । भारतले आफूविरुद्धको आक्रमणमा पाकिस्तानले ‘हाई स्पीड मिसाइल’ प्रयोग गरेको दाबी गरेको छ ।
आज शनिबार जारी तनावको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय स्थल सेनाकी कर्णेल सोफिया कुरैशीले सो कुरा बताएकी हुन् ।
उनले पञ्जाबको सैन्य अड्डामा पाकिस्तानले उच्च गतिको मिसाइल प्रहार गरेको तर भारतले त्यसलाई निष्क्रिय पारेको बताइन् ।
उनका अनुसार पाकिस्तानले पञ्जाबको हवाई अड्डामा भारतीय समयअनुसार शनिबार राति १ बजेर ४० मिनेटमा उच्च गतिको मिसाइल दागेको थियो ।
पाकिस्तानी सेनाले पूरै पश्चिमी मोर्चामा आक्रामक गतिविधि जारी राखेको भन्दै उनले नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलाबारी गरेको बताइन् ।
श्रीनगरदेखि नलियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास भएको र त्यसमा अधिकांश प्रयासहरू विफल कर्णेल कुरैशीले जानकारी दिइन् ।
पाकिस्तानले उधमपुर, भुज, पठानकोट, बठिन्डा र आदमपुरका सैन्य हवाई अड्डाहरूमा उपकरण र जनशक्तिमा क्षति पुर्याएको उनको भनाइ छ ।
भारत र पाकिस्तानबीच जारी तनावका बीच लगातार चौथो दिन शनिबार भारतीय विदेशसचिव विक्रम मिस्री, भारतीय स्थल सेनाकी कर्णेल सोफिया कुरैशी र भारतीय वायु सेनाकी विङ कमाण्डर व्योमिका सिंहले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा भारतका विदेशसचिव विक्रम मिस्रीले पाकिस्तानका गतिविधिहरू उक्साहटपूर्ण रहेको भन्दै भारतले सबैको उचित जवाफ दिएको बताए ।
‘पाकिस्तानका गतिविधिहरू निरन्तर उक्साहटपूर्ण छन् । जवाफमा भारतले ती उक्साहटपूर्ण गतिविधिहरूको उचित जवाफ दिएको छ,’ विदेशसचिव मिस्रीले भने ।
पाकिस्तानले भने भारतको यस बयानमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
FACEBOOK COMMENTS