काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी आरबीसी कार्यान्वयनको दुई वर्ष पूरा भएको अवसरमा समीक्षा, अनुभव आदान–प्रदान तथा प्रस्तावित परिमार्जनका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जोखिममा आधारित पूँजी प्रणाली सफल रूपमा कार्यान्वयन भइरहेको बताएका छन्। उनले दुई वर्षको कार्यान्वयन अवधिमा देखिएका चुनौती र उपलब्धिको समीक्षा गर्दै आगामी सुधारका लागि ठोस सुझाव दिन बीमा कम्पनीहरूलाई आग्रह गरे।
उनले बीमकहरूबाट प्राप्त सुझावका आधारमा जोखिममा आधारित पूँजी सम्बन्धी व्यवस्थालाई समयानुकूल र व्यावहारिक बनाउँदै परिमार्जन गरिने पनि स्पष्ट पारे।
प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले जोखिममा आधारित पूँजी प्रणालीलाई अन्तर्राष्ट्रिय असल अभ्यास, समीक्षा र विश्लेषणका आधारमा निरन्तर सुधार गर्दै प्रभावकारी रूपमा अघि बढाइने बताए।
कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्षे समीक्षा तथा प्रस्तावित परिमार्जनबारे प्रस्तुति दिएकी थिइन्। उनले तथ्याङ्कको गुणस्तर सुधार, बीमाङ्की क्षमता अभिवृद्धि, संस्थागत जोखिम संस्कृतिको विकास, जोखिम व्यवस्थापन सुदृढीकरण तथा समयमै प्रतिवेदन पेश गर्न प्राधिकरणले बीमा कम्पनीहरूबाट अपेक्षा गरेको बताइन्।
जीवन बीमक संघ नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले जोखिममा आधारित पूँजी कार्यान्वयनका क्रममा संघले दिएका सुझावलाई समेटिएको भन्दै प्राधिकरणप्रति आभार व्यक्त गरे।
अन्तरक्रियामा सहभागीहरूले आरबीसी कार्यान्वयनका अनुभव आदान–प्रदान गर्नुका साथै जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिकामा रहेका विद्यमान र प्रस्तावित व्यवस्थाबारे जिज्ञासा राखेका थिए।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्तप्रसाद बोहराले प्राधिकरणले यस वर्षदेखि बीमा क्षेत्रका सम्पूर्ण तथ्याङ्क समेटिएको वार्षिक प्रकाशन सुरु गरेको जानकारी दिए। उनका अनुसार पहिलो संस्करणका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल इयर बुक २०८१र८२’ प्रकाशित गरिएको छ।
कार्यक्रममा जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख तथा आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक करुणा थापाले गरेकी थिइन्।