काठमाडौं । भारतको अहमदाबादमा दुर्घटना भएको एअर इण्डियाको विमानको ब्ल्याक बक्सको अनुसन्धान सुरू गरिएको छ ।
विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले शिकागो कन्भेन्सन सम्झौताअनुसार एआई–१७१ विमान दुर्घटनाको अनुसन्धान सुरू गरेको भारतको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार अनुसन्धानका लागि एएआईबीका महानिर्देशकको नेतृत्वमा एक टोली गठन गरेर अनुसन्धान सुरू गरिएको जानकारी दिइएको छ । यसमा एक उड्डयन चिकित्सा विशेषज्ञ, एक हवाई ट्राफिक नियन्त्रण अधिकारी र अमेरिकी सरकारी अनुसन्धान एजेन्सी राष्ट्रिय यातायात सुरक्षा बोर्डका प्रतिनिधिहरू छन् ।
जुन १२ मा लण्डन जाँदै गरेको एअर इण्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार २४२ यात्रुहरूमध्ये २४१ जनाको मृत्यु भएको थियो । यस दुर्घटनामा एक जना मात्र सकुशल बाँचेका थिए । दुर्घटनामा जमिनमा रहेका अन्य २९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयले ककपिट भ्वाइस रेकर्डर र उडान डेटा रेकर्डर दुवै बरामद गरिएको बताएको छ । ब्ल्याक बक्स २४ जुन २०२५ मा भारतीय वायुसेनाको विमानद्वारा पूर्ण सुरक्षाका साथ अहमदाबादबाट एएआईबी ल्याब दिल्लीमा ल्याइएको थियो ।
प्रयोगशालामा रहेका एएआईबी र एनटीएसबीका प्राविधिक सदस्यहरूको टोलीले सुरक्षित रूपमा डेटा निकालेको छ । यससँगै सीभीआर र एफडीआर डाटाको विश्लेषण सुरू भएको छ ।
FACEBOOK COMMENTS