साल्ट ट्रेडिङको स्थापना २०२० साल भदौ २७ गते भएको थियो । त्यतिबेला नेपालमा नुनको आपूर्तिको अवस्था अत्यन्तै जटिल थियो । भौगोलिक विकटता, यातायातको सञ्जाल नभएको, नेपालमा नुनको आफ्नै स्रोत नभएकोलगायत कारणले नुनको आपूर्ति, गुणस्तर र मूल्य तीनवटैमा समस्या थियो । मान्छेहरू १० देखि २५ दिनसम्म हिँडेर भान्सासम्म नुन पुर्याउने गर्थे । विक्रीवितरण गर्न राज्यका निकायहरूलाई पनि धौधौ पर्ने अवस्था थियो ।
‘नुन वितरण गर्ने क्रममा बनेपामा सरकारी कर्मचारी कुटिए’ जस्ता समाचारहरू गोरखापत्रमा छापिएको देखिन्थ्यो, जसले नुनको नियमित आपूर्ति छैन भन्ने कुरालाई स्पष्ट गर्दथ्यो । अर्थात् उपलब्धता, गुणस्तर र मूल्यमा एकरूपताको अभाव थियो ।
यसै क्रममा तत्कालीन राष्ट्रप्रमुख राजा महेन्द्रले पूर्वाञ्चल पहाडको भ्रमणको क्रममा जनतासँग प्रत्यक्ष भेटघाट गर्नुभयो र जनताका समस्याहरूबारे जानकारी लिनुभयो । त्यस क्रममा ‘नुन खान पाइएन सरकार’ भन्ने जनगुनासो व्यापक आयो । उक्त जनगुनासोपछि राजा महेन्द्रले काठमाडौं फर्किएर सम्बन्धित सरोकारवालाहरू नुनका व्यापारीहरू, मोनिटरिङ गर्ने वाणिज्य विभागलगायतलाई समेटेर छलफल गर्नुभयो । त्यो छलफलबाट राजा महेन्द्रले नुनको विक्रीवितरणका लागि छुट्टै कम्पनी खोल्ने निर्णय लिँदै आवश्यक निर्देशन दिनुभयो । र, २०२० साल भदौ २७ गते साल्ट ट्रेडिङ लिमिटेड स्थापना भयो ।
मुस्ताङका थकालीदेखि कृष्णनगरका मुसलमानसम्म, नेपालगञ्जका वैश्यदेखि काठमाडौँको नेवारसम्म, विराटनगरको मारवाडीदेखि जनकपुरको तेली साहसम्म त्यो कम्पनीको शेयर होल्डर बने । नेपालभरि नुनको कारोबारमा लागेका व्यक्तिहरू, आयातकर्ता, ढुवानीप्रदायक, थोक र खुद्रा विक्रेता सबैलाई साल्ट ट्रेडिङमा समावेश गरियो । अर्थात् नुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न जो–जो थिए ती सबैलाई अनिवार्यरूपमा शेयर हाल्न लगाई सहभागी गराइयो र तत्कालीन श्री ५ को सरकार स्वयम् पनि शेयर होल्डर भएर बस्यो । यही नै नेपालको पहिलो पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलको संस्था हो, जुन संस्था ६२ वर्षदेखि अनवरतरूपमा सेवा प्रवाह गर्दै आएको छ ।
सन् १९६३/६४ मा सुनको मूल्य प्रति १० ग्राम भारतीय रूपैयाँ ६३ थियो । त्यतिबेला एक्सचेन्ज रेट भारतीय रूपैयाँ १०० को नेपाली रूपैयाँ १२५ थियो । भारतीय पैसाको मूल्य नेपाली भन्दा बढी थियो । यस हिसाबले एक सय रूपैयाँमा करिब डेढ तोला सुन खरिद गर्न सकिन्थ्यो । तर, त्यस्तो सुनौलो मौकालाई छोडेर साल्ट ट्रेडिङमा लगानी गरी व्यापार गर्न मानिसहरू उत्साहित हुनु सामान्य कुरा थिएन । सरकारको स्विकृतिबेगर र कानुनविपरीत एक रूपैयाँ पनि खर्च तथा लागानी गर्न नसकिने संस्थामा साधारण व्यापारीहरूको समेत आकर्षण हुनु सायद तत्कालीन सरकार र उसले ल्याएको पहिलो ‘पीपीपी मोडल’प्रतिको विश्वास नै हो ।

सरकार र आम सर्वसाधारणको संयुक्त स्वामित्व

सरकार र तत्कालीन नेशनल ट्रेडिङ लिमिटेड (व्यापारसम्बन्धी सबै पक्षहरूको अनुगमन गर्ने सरकारी संस्थान) को गरी साल्ट ट्रेडिङ लिमिटेडमा हाल करिब २२ प्रतिशत सरकारी लगानी छ, बाँकी सबै सर्वसाधारणहरूको । अहिले कुनै एउटा कम्पनीले आईपीओ जारी गर्यो भने आवेदन दिनुपूर्व हामी उक्त कम्पनीको समग्र पृष्ठभूमि, व्यवसाय र आम्दानीको स्रोत, वित्तीय अवस्था, ईपीएस, एनएभी, आईपीओ जारी गर्नुको उद्देश्य, फाइदा र जोखिमका पक्षहरू, शेयर संरचना, लाभांश इतिहास र सम्भावना, इस्यू म्यानेजर र रेटिङ तथा बजारको धारणासमेतलाई व्यापक अध्ययन गर्दछौँ, तर त्यतिबेला यस्तो सहजता थिएन ।

यी सबैमध्ये कुनै पनि कुराको जानकारीबिनै मुस्ताङको थकालीदेखि काठमाडौंका नेवारसम्मले के बुझेर लगानी गरे होलान्, यो आफैंमा एउटा महत्वपूर्ण इतिहास र विश्वास हो । जनताले गरेको गुनासो सम्बोधनका लागि तत्कालीन सरकारले चालेको त्यो प्रभावकारी कदमप्रति सर्वसाधारण व्यापारीहरूले विश्वास गर्नुको महत्वपूर्ण आधार सरकार स्वयम्ले पनि लगानी गर्नु हो । यस्तै, संसद भन्दा माथि राजा हुने र राजाले बोलेका कुराहरू कानुनसरह हुने परिपाटी भएका कारण कानुनी अस्थिरताको कुनै चिन्ता नहुनु अर्को आधार बनेको विश्लेषण गर्न सकिन्छ ।

ढिके नुनदेखि आयोडिनयुक्तसम्म

साल्ट ट्रेडिङको स्थापनापछि नेपालमा नुनको अभाव हट्नुका साथै सुपथ मूल्य र सहज उपलब्धताको सुनश्चितता समेत कायम भयो । हरेक नागरिकको घरअगाडि नै सर्वसुलभ रूपमा नुन पाइन थाल्यो । र, अहिले हामी सबैजना ढुक्क छौँ जुनसुकै बेला नुन पाइन्छ, त्यो पनि घरअगाडिकै पसलमा । हरेक नेपालीको भान्सामा नभइ नहुने अतिआवश्यक नुनको मूल्यमा एकरूपता, उपलब्धताको सुनिश्चितता र गुणस्तरीय नुनको विक्रीवितरणमा अनुकरणीय मानक स्थापना गर्न आज साल्ट ट्रेडिङ लिमिटेड सफल बनेको छ । साल्ट ट्रेडिङले सुरूमा आयोडिन नभएको ढिके नुन विक्रीवितरण गर्दै आएको थियो ।
सन् १९६५ मा तत्कालीन सरकारले देशव्यापी ‘सर्भे’ गर्यो । उक्त ‘सर्भे’ले ५५ प्रतिशत जनतामा आयोडिनको कमी रहेको र त्यसबाट हुने कुनै न कुनै प्रकारको विकृतिबाट उनीहरू प्रभावित बनिरहेको प्रतिवेदन ल्यायो । त्यसमध्ये ४ प्रतिशत मानिसमा क्रिटिनिज्म फेला पर्यो । क्रिटिनिज्म भनेको सुस्त मनस्थितिका हुन्, जसले आफ्नो काम आफैं गर्न सक्दैनन् । क्रिटिनिज्मलाई भयावह अवस्थाका रूपमा समेत लिइन्छ । ४ प्रतिशत क्रिटिनिज्मका बिरामीलाई स्याहार गर्न अर्को सग्लो ४ प्रतिशत जनशक्ति दैनिकरूपमा व्यस्त हुनुपर्दछ । यसको अर्थ ८ प्रतिशत जनतालाई कामै नगरी पाल्नुपर्ने अवस्था सृजना हुन्छ । यसले राष्ट्रकोे उत्थान हुँदैन भन्ने निष्कर्षका साथ नेपालमा आयोडिनयुक्त नुनको विक्रीवितरणको अवधारणा आयो । आयोडिनसँग जोडिएका अन्तर्राष्ट्रिय संस्थाहरू डब्ल्यूएचओ, युनिसेफ माइक्रोनेट इनिसिएटिभ र आईसीआईडीको सहयोग र सहकार्य तथा भारत सरकारको प्रत्यक्ष सहयोगमा वि.सं. २०३० सालदेखि आयोडिनयुक्त नुन बिक्री गर्न थालियो ।
नुनमा यसकारण बढाइयो आयोडिन
सुरूमा सरकारको आदेश अनुसार नुनमा १५ पीपीएम (पार्ट पर मिलियन) आयोडिन मिसाउन थालियो । १५ पीपीएम भनेको १० लाख भागमा १५ भाग हो । त्यसको प्रभाव त्यति राम्रो भएन । त्यसलाई फेरि थपेर २० हुँदै ३० पीपीएम पुर्याइयो । त्यसो गर्दा पनि राम्रो प्रभाव देखिएन । यातायात र बजारीकरणको समस्याका कारण मान्छेहरूले एकैचोटी वर्ष दिनका लागि नुन किनेर भण्डारण गर्ने गर्दथे । त्यसमा पनि कालो भयो भनेर धोइपखाली गर्ने, पग्लिन्छ भनेर आगोको छेउमा राख्ने र लामो समय खुला भण्डारण गरिनेलगायत कारणबाट नुनको बाहिरी भागमा मात्रै मिसाइएको आयोडिन नष्ट हुने र पुरानै अवस्थामा पुग्ने समस्या देखियो । यस्तो समस्या देखिएपछि सरकारले नुनलाई धुलो बनाएर आयोडिन मिसाउने र प्याकिङ गरेर बिक्रीवितरण गर्न साल्ट ट्रेडिङलाई निर्देशन दियो । सोही अनुसार हालसम्म आयोडिनयुक्त धुलो नुनलाई प्याकेटमा राखेर नेपालको सुगमदेखि दुर्गम भू–भागहरूसम्मै विक्रीवितरण गरिँदै आएको छ । अहिले विक्रीवितरण गरिँदै आएको प्याकेटमा ५० पीपीएम आयोडिन मिसाइएको छ । अहिलेसम्म त्यही मात्राले काम गरिरहेको छ ।
नुनमा कति आयोडिन मिसाउने भन्ने कुरा साल्ट ट्रेडिङको क्षेत्राधिकारभित्र पर्दैन । स्वास्थ्य मन्त्रालयबाटै स्पष्ट निर्देशन आउँछ । अहिले डीएफटी क्युसीले त्यो म्यान्डेटरी (अनिवार्यता) तोकेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय निकायहरू डब्ल्यूएचओ र युनिसेफलगायतसँग सहकार्य गरेर आयोडिनको मात्रा निर्धारण गरी साल्ट ट्रेडिङलाई निर्देशन पठाउँछ । ती अन्तर्राष्ट्रि संस्थाहरूले हाम्रो खाना पकाउने तरिका, नुन भण्डारण गर्ने तरिका र अन्य विभिन्न कुराहरूको विषयमा सूक्ष्म अध्ययन गरी नुनमा मिसाउनुपर्ने आयोडिनको मात्रा तय गर्दछन् ।
आयोडिनको प्रयोगले हुने फाइदाहरू
खाना पकाउने नेपाली तौरतरिकाका कारण हामीले मिसाएको शतप्रतिशत आयोडिन नागरिकको भान्सासम्म पुग्दैन । किनकी धेरै पकाउने र नुनसहितको तरकारीहरू भुट्ने चलनबाट आयोडिनमा थुप्रै ह्रास आउँछ । नुन राखेपछि चाँडो खाना पाक्छ भनेर हामी बेलैमा नुन राख्छौँ, यसो गर्दा आयोडिनको मात्रा घट्छ । अर्थात् हाम्रो शैलीले करिब ३०% आयोडिन पकाइतुल्याइ गर्दा नै नष्ट हुन्छ । यदि नछोपिकन पकाएको छ भने त सबै उडेर जान्छ । तरकारीमा अमिलो मिसाउनुभएको छ भने पनि सबै नष्ट हुन्छ । अलिकति पनि पाउने सम्भावना हुँदैन । अहिले पनि विकसित देशहरूमा ८० पीपीएमसम्म आयोडिन मिसाउने गरिएको छ । जबकी तिनीहरूले नुन हालेर खानेकुरा खासै पकाउँदैनन्, पाकेको खानामा नुन छरेर खाने गर्दछन् । तर, हामी भने खानेकुराको भित्र–भित्रसम्म नुन पुगोस् भनेर पहिल्यै हालिदिन्छौँ र मज्जाले पकाउँछौँ ।
सन् २००७ मा डब्ल्यूएचओले तीनवटा मापदण्ड तोकेको थियो । प्रोडक्सन लेभलमा ५०, रिटेल लेभलमा कम्तिमा ३० र घरको भान्सासम्म पुग्दा नुनमा १५ पीपीएम आयोडिन हुनैपर्दछ । जुन क्षेत्रमा नुनको सर्भे गरिएको हो त्यस क्षेत्रमा प्रयोग भएको ९० प्रतिशत बढी नुनमा १५ पीपीएम भन्दा बढी आयोडिन भएको हुनुपर्दछ भन्ने अर्को मापदण्ड पनि छ ।
उदाहरणका लागि काठमाडौं महानगरपालिकाको वडा नं. १३ मा वितरण गरिने नुनमा ५० पीपीएम उत्पादन गर्ने बेलामा मिसाउने, ३० पीपीएम प्याकिङ गर्दा हुनुपर्ने र उपभोक्ताको भान्सामा पुगेर खाने बेलामा कम्तिमा १५ पीपीएम आयोडिन हुनैपर्दछ । र, तेस्रो मापदण्ड सम्बन्धित क्षेत्रका बालबालिकाको पिसाबबाट निस्कने आयोडिनको मात्रा कम्तिमा १०० माइक्रोग्राम भन्दा बढी र २९९ माइक्रोग्राम भन्दा तल हुनुपर्छ भनिएको छ । यी तीनवटै मापदण्ड साल्ट ट्रेडिङले पूरा गर्दै आएको छ । फलस्वरूप साउथ–इस्ट एसियामा मात्रा मिलाएर आयोडिन नुन वितरण गर्ने अग्रणी देशको सूचीमा नेपालको नाम रहँदै आएको छ । आयोडिन डिफिसिन्सीबाट पार लगाउने नेपाल एक मात्र देश पनि हो । हामी सँगसँगै समानान्तर रूपमा भुटान पनि छ ।
आयोडिनको कमीले हुने समस्याहरू
हाम्रो जीवनको सुरूवात गर्भबाट भएको हो । यदि आयोडिन प्रयोग नगर्ने हो भने गर्भ तुहिने, मृत शिशु जन्मिने, लुलो–लङ्गडो, अपाङ्ग, सुस्त मनस्थितिका बच्चा जन्मिने सम्भावना हुन्छ र शिशु मृत्युदर बढ्ने जोखिम सृजना हुन्छ ।
बच्चाहरू विद्यालय जान नमान्ने, गइहालेमा कक्षाको अन्तिम बेञ्चमा बस्न रुचाउने, साथीभाइसँग घुलमिल हुन नचाहाने, कक्षा र घरमा राम्रोसँग पढ्ने विद्यार्थीहरू परीक्षामा असफल (फेल) हुने घटना पनि आयोडिनको कमीकै कारण भएको पाइएको छ । अर्थात् आयोडिनको कमी भएका बच्चाहरूमा १५ पोइन्ट आईक्यू लेभल कम हुन्छ । सिक्ने र बुझ्ने क्षमता, शारीरिक तन्दुरुस्ती यो सबै चीजलाई आयोडिनले प्रभावित तुल्याउँछ । यो वैज्ञानिकहरूले प्रमाणित गरिसकेको कुरा हो ।
छोरी मान्छेहरूलाई आयोडिन कमी हुँदा मासिक धर्म (रजस्वला) अनियमित हुने, अत्यधिक रक्तश्राव सँगसँगै बाँझोपनको समस्याहरू उत्पन्न हुनसक्छ । वयस्क व्यक्तिमा आयोडिन कमी हुँदा सुस्त हुने, एक्लै झोक्राएर बस्ने, अस्वाभाविक मोटाउने, शरीरको ‘मेटाबोलिज्म’ले राम्रोसँग काम गर्न नसक्नेलगायत समस्या आउँछ । हामीले खाएको खानालाई ऊर्जामा परिणत गर्ने काम आयोडिनको हो । थाइरोइड ग्ल्याण्डले आयोडिनको मद्दतबाट थारोक्सिन इन्जाइम बनाउँछ, जुन घाँटीमा हुन्छ । थाइरोक्सिनले हाम्रो खानालाई शक्तिमा परिणत गरिदिन्छ । यसको मात्रा कम भयो भने खानालाई शक्तिमा परिणत गर्न सक्दैन । फलस्वरूप हामीमा अल्छी र लोसेपन देखिन्छ । मानिसलाई मात्र होइन पशुपंक्षीलाई पनि आयोडिन त्यत्तिकै आवश्यक छ । कम्तिमा घरपालुवा पशुपक्षीहरूलाई पनि आयोडिन दिनुपर्छ ।
‘मेजर पब्लिक हेल्थ इस्यु’को अवस्था
नेपालमा तीनवटा ‘मेजर पब्लिक हेल्थ इस्यु’ छन् । आयोडिन डेफिसिन्सी, आइरन डेफिसिन्सी र भिटामिन ‘ए’ डेफिसिन्सी । भिटामिन ‘ए’ को लागि अझै पनि सरकारले क्याप्सुल खुवाइरहेको छ । जुन बजेटबाट भए पनि सरकारले आइरनचक्की पनि वितरण गरिरहेकै छ । तर, आयोडिन डेफिसिन्सीमा एकदमै न्यून भइसक्यो । नुन किन्दा आयोडिनको पैसा पनि हामी आफैंले तिरिरहेका छौँ । यसले पब्लिक हेल्थ इस्युलाई एड्रेस गरिरहेको छ । आयोडिन डेफिसिन्सीका कारण पब्लिक हेल्थ इस्यु ‘नर्मल रेञ्ज’मा आइसकको छ ।
आयोडिनका अन्य स्रोतहरू र अभ्यास
जमिनको सतहमा अन्य पोषक तत्वहरूसँगै आयोडिन पनि थियो । त्यहाँ उब्जनी भएको घाँसपात, साग, तरकारी, फलफूल सबैमा आयोडिन हुन्थ्यो । ती घाँसपात, सागसब्जी र फलफूल खाएर हुर्केको पशुपक्षी र तिनीहरूबाट प्राप्त हुने दूध, अण्डा र मासुमा पनि आयोडिन पाइन्थ्यो । तर, पृथ्वीको भूबनोट भिरालो भएका कारण दिनप्रतिदिन जमिनको माथिल्लो सतह क्षयीकरण हुँदै गएको छ । प्रत्येक वर्ष पानीले ‘टप लेयर’ बगाउँदा–बगाउँदा माटो नै ‘आयोडिन डेफिसिट’ भइसक्यो । अहिले पृथ्वीमा उत्पादित खाद्य वस्तुहरूमा आयोडिनको मात्रा पाउन मुश्किल छ, पाइहाले पनि पूरा हुँदैन । त्यसकारण आयोडिन प्रयोगको अभियान चलाउन परिरहेको हो । संसारका धेरैजसो देशमा पनि यस्तो अभियान सञ्चालन भइरहेको छ ।
विश्वव्यापीरूपमै मानिसको ‘फिजिकल ग्रोथ’ र ‘मेन्टल हेल्थ’ का लागि आयोडिन नभइ नहुने निष्कर्ष निकालिएको छ । थाइल्याण्डका केही क्षेत्रमा इलेक्ट्रोलाइसिस प्रोसेसमार्फत अण्डामा मिसाएर आयोडिन दिइन्छ । एउटा अण्डा दैनिक खानुपर्छ । स्वस्थ र सुलभ खानेपानीको व्यवस्था भएको ठाउँमा खानेपानीमा मिसाइएको छ । कतै ‘ब्रेड’मा, कतै चिनीमा आयोडिन मिसाउने गरिएको पाइन्छ । हाल १८६ वटा देशमा नुनमा आयोडिन मिश्रण गरी विक्रीवितरण गरिँदै आएको छ । युनिभर्सल आयोडाइजेसन प्रोग्राम (यूएसआई) कार्यक्रमको नेपाल पनि सदस्य राष्ट्र हो ।
आयोडिन बढी हुँदा के हुन्छ ?
डाक्टरहरूले गरेको अनुसन्धनका आधारमा यदि कुनै व्यक्तिले दैनिक रूपमा ११०० माइक्रोग्राम भन्दा बढी आयोडिन खान्छ र त्यो नियमित रूपमा सेवन भइरहेको छ भने ‘हाइपर थाइरोडिज्म’ हुने सम्भावना हुन्छ । तर, एक/दुई दिन आयोडिन बढी खाँदैमा त्यसले कुनै असर गर्दैन । यद्यपि, ११०० माइक्रोग्राम आयोडिन खानका लागि हामीले २२ ग्राम नुन खाएको हुनुपर्छ, तर हामी एक दिनमा २२ ग्राम नुन कहिल्यै खाँदैनौँ । त्यसकारण अहिलेको अवस्थामा हाम्रो शरीरलाई आयोडिन बढी हुने कुनै सम्भावना देखिदैन ।
पछिल्ला दिनहरूमा मानिसहरूले आयोडिन बढी भएर विभिन्न विकृतिहरू देखिएको भन्दै तथ्यहीन कुराहरू गरिरहेको देखिन्छन् । कतिपयले त साल्ट ट्रेडिङ लिमिटेडले बजारमा पठाएको आयोडिनयुक्त नुनको सट्टा ढिके, सिदे र बीरे नुनको प्रयोग बढाएको समाचारहरू पनि सुनिन थालेको छ । यसले मानव स्वास्थ्यप्रति थप चिन्ता र जोखिम बढाउने खतरा पैदा गरेको छ । आयोडिन कमी र बढी हुँदा देखिने विकृतिहरूका बारेमा विस्तृतमा माथि उल्लेख गरिसकिएको छ । सारांशमा पुन: दोहोर्याउँदा आयोडिन पाउने प्राकृतिक स्रोत निकै कमजोर बनिसकेको छ र नुनमा आयोडिन मिसाएर वितरण थालिएको हो ।
आयोडिनको मात्रा कम भयो भन्दैमा साल्ट ट्रेडिङ स्वयम्ले बढाउन वा घटाउन सक्दैन । ‘पब्लिक हेल्थ इस्यू’ का विषयमा कुनै पनि निर्णय गर्नुपूर्व यथेष्ठरूपमा अध्ययन गरी सरोकारवाला निकायहरू विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूटीओ), संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), आयोडिनको कमी रोक्नका लागि स्थापित (इन्टरनेशनल काउन्सिल फर द कन्ट्रोल अफ आयोडिन डिफिसेन्सी डिसअडर्स– आईसीसीआईडीडी) लगायतसँगको सहकार्यपछि मात्रै आयोडिनको मात्रा बढी वा घटी को निर्णय लिनु पर्दछ । त्यो पनि साल्ट ट्रेडिङले नभइ स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ । त्यस सन्दर्भमा मन्त्रालयको निर्देशनहरू पालना गर्ने मात्रै अधिकार यो संस्थालाई छ ।
मेरो विचारमा अहिले बजारमा चलाइएको हल्लाहरू व्यापारका लागि मात्रै हो, नागरिकको स्वास्थ्य चिन्ताले होइन । सरकारको समेत लगानी रहेको एउटा सफल संस्थालाई असफल बनाउनका लागि यस्तो अनावश्यक हल्लाखल्ला भइरहेको स्पष्ट बुझ्न सकिन्छ । यदि कसैले आफ्नो अध्ययनबाट हल्ला चलाइएजस्तो तथ्य र प्रमाणहरू सङ्कलन गरेको छ भने त्यो प्रतिवेदन सरकारलाई बुझाएर सच्याउने ठाउँहरू धेरै छन्, तर स्वास्थ्य संवेदनशीलतामाथि गम्भीर असर पुग्नेगरी हल्ला चलाउनु आम नागरिकको हितमा छँदैछैन ।
गलत प्रचारपछिका परिणामहरू
बजारमा फिँजाइएको अनावश्यक हल्लाका कारण ५०/६० रूपैयाँमा पाइने बीरे नुनको मूल्य २०० रूपैयाँ र सिदे नुनको मूल्य प्रतिकिलो ३०० रूपैयाँसम्म पुगेको छ । ढिके, बीरे र सिदे नुनको प्रयोग बढाउँदा शरीरमा ‘सोडियम क्लोराइड’ नपुग्ने समस्या देखिन थालेको छ । सोडियम कम हुँदा मान्छे भकाभक मुर्छित हुन थाल्छन् । हल्लाको पछि लागेर सिदे नुन खान थाल्नुभएका मेरो टोलका एक जना दाइलाई गएको दसैँको दिन अस्पताल पुर्याउनुपरेको थियो । ढिके नुनमा आयोडिन नभए पनि सोडियम पर्याप्त पुग्छ, तर बीरे र सिदे नुनमा पुग्दैन ।
यदि कसैलाई विश्वास लाग्दैन भने देशव्यापी ‘सर्भे’ गर्दा भइहाल्छ । अन्तर स्राबी ग्रन्थीसँग रिलेटेड इन्डोक्रोनोलोजिस्ट डाक्टरहरूसँग सहकार्य गरौँ । थायरोइड ग्ल्याण्ड र पिट्युट्री ग्ल्याण्डबारे उहाँहरू जानकार हुनुहुन्छ । उहाँहरूकोमा उपचार गर्न आउने विरामीहरू कुन–कुन समस्या लिएर आउनुहुन्छ । थाइरोइडसँग समस्या त्यसमा पनि आयोडिन बढी भएर हुने हाइपर थाइरोइडिजम, आयोडिनको कमीले हुने हाइपो थाइरोइडिजमका विरामी कति छन् ?
व्यक्तिगतरूपमा मैले डाक्टरहरूसँग परामर्श गर्दा हरेक १० जनामध्ये नौ जनामा हाइपो थाइरोइडिजम देखिएको छ, जुन आयोडिनको कमीले हुने गरेको छ । अर्को कुरा जुन रगत जाँच गराइन्छ टी–थ्री, टी–फोर, टीएसएच थाइरोइड फङ्सन टेस्ट त्यसको रिपोर्टको आधारमा आयोडिन बढी भयो कि कम भयो भनेर तत्काल विश्लेषण गर्न सकिन्छ । अर्को, औषधि व्यवस्था विभागले नेपाल भित्रिने जति पनि औषधि छ त्यसलाई मोनिटरिङ गर्छ । विभागमा भएको इम्पोर्टलाई हाइपो थाइरोइडिजमको औषधि कति इम्पोर्ट छ ? हाइपर थाइरोइडिजमको औषधि कति इम्पोर्ट छ ? भनेर भन्सार र औषधि व्यवस्था विभागबाट म्याच गरेर हेर्न सकिन्छ ।
कम्तिमा हामीले हल्लाहरूको पछाडि लागेर आफ्नो स्वास्थ्यसँग खेलवाड चाहिँ गर्नु हुँदैन । हल्लाकै कारण श्रीलंकामा समस्या आइसकेको छ । आयोडिन घटाउँदा तीन वर्षमा त्यहाँ झन्डै ३८% हाइपो थाइरोइडिजमको समस्या देखियो । कतै हामी पनि यो ५२ वर्षको प्रयासमा ‘स्टेबल’ भएको अवस्थालाई असफल पारेर गम्भीर स्वास्थ्य चुनौती सृजना गर्नतर्फ उन्मुख त छैनौँ ? सबैले सोच्नुपर्ने बेला भएको छ ।
दुर्गममा विशेष सेवा
साल्ट ट्रेडिङले नेपालका दुर्गम २२ वटा जिल्लाहरूमा सरकारले दिएको ढुवानी अनुदानबाट सुपथ मूल्यमा नुन उपलब्ध गराउँदै आएको छ । सुरूमा करिब ४० जिल्लामा यस्तो सेवा उपलब्ध गराएको थियो । ‘क’ श्रेणीको दुर्गम भनेको गोर्खा र रसुवा समेत थियो । तर, अहिले ती ठाउँहरूमा यातायातको व्यवस्थाका कारण सहज भइसकेको छ । र, त्यसबाहेक अहिले २२ वटा जिल्लामा नेपाल सरकारले तोकेको परिमाणमा नुन ढुवानी गरिरहेका छौँ । ढुवानी भाडा सरकारले ब्यहोर्छ भने नुनको मूल्यमा साल्ट ट्रेडिङले अनुदान दिँदै आएको छ ।
दुर्गममा हामीले सप्लाई गरिरहेको नुन पढाइसँग पनि जोडिएको छ । मैले केही समय रसुवाको एउटा विद्यालयमा ‘टिचिङ’ गरेको थिएँ । त्यसबेला विद्यालय मात्र होइन एसएलसीमा जिल्ला कै रिजल्ट जहिल्यै नील हुन्थ्यो । अहिले त डिस्टिङ्सन आइरहेको देखिरहको छु । प्रत्येक विद्यालयका दुईदेखि पाँच जनासम्मले डिस्टिङ्सन ल्याइरहेका छन् । यो सबै अहिलेको आयोडिनयुक्त नुनको कारणले हो । विगतमा यसबारे हामीलाई कुनै चेतना नै थिएन । आयोडिन अभावका कारण विद्यार्थीहरू तेजिला बन्नै नसक्ने रहेछन् ।
कण्ठ रोग नियन्त्रणमा सफलता
साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुनमार्फत जनस्वास्थ्य सुदृढ गरेर दीर्घकालीन रूपमा कण्ठ रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको छ । कण्ठ रोग गरिबी, कुपोषण र कमजोर स्वास्थ्य अवस्थासँग जोडिएको रोग हो । साल्ट ट्रेडिङको निरन्तर नुन आपूर्तिले ग्रामीण र दुर्गम क्षेत्रमा पोषण सुधार हुनाका साथै जनस्वास्थ्यको आधार सुदृढ बन्दा यसले कण्ठ रोग नियन्त्रणमा पनि भूमिका खेलेको देखाउँछ । कण्ठ रोग नियन्त्रण कार्यक्रमले पछिल्लो १० वर्षमा ९५.५६ प्रतिशत सफलता पाएको छ । यो अवधिमा न्यूनतम ८५ प्रतिशतदेखि अधिकतम १०० प्रतिशतसम्मै सफलता हासिल भएको छ । अधिकांश वर्षहरूमा ८५% भन्दा माथि प्रगति हासिल गरेको यो कार्यक्रमले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत लक्ष्य हासिल गरेको छ । (थप विवरण ‘चार्ट–१’ मा प्रस्तुत गरिएको छ ।)
अन्त्यमा,
नुनबाट सुरू गरेको साल्ट ट्रेडिङले क्रमश: अत्यावश्यक वस्तुको आपूर्तिहरू गर्दै जानुपर्छ, कारोबार पनि बढाउनुपर्छ, नेपालमै रोजगारी सृजना गर्नुपर्छ, नेपालको कृषि उपजलाई बजारीकरण गर्नुपर्छ र देशलाई औद्योगिकीकरणतर्फ लानुपर्छ भन्ने सोचबाट २०३० सालमा नेपालमा पहिलो मैदा उद्योग सञ्चालनमा ल्यायो । त्यतिबेला यहाँको गहुँ भारत जाने र त्यहाँबाट मैदा तयार भएर यता ल्याउने गरिन्थ्यो ।
नेपालमै मैदा उद्योग सञ्चालनमा आएपछि यहाँको उत्पादनले बजार पाउनाका साथै किसानलाई उत्साह थप्यो, केही रोजगारी सृजना भयो, आयातका लागि जाने विदेशी मुद्रा रोकियो । त्यसपछि साल्ट ट्रेडिङले नेपालकै पहिलो बनस्पति घिउ, बुटवल धागो कारखाना, गोर्खाली रबर उद्योगमा प्रमुख लगानी गर्यो । त्यस्तै, नारायणी फाइनान्स अहिले मर्ज हुँदै गएर सनराइज बैंकमा छ, त्यहाँ पनि लगानी छ ।
नेपालकै पहिलो चिनी मिल पनि साल्ट ट्रेडिङले नै सञ्चालनमा ल्याएको हो । सागरमाथा इन्स्योरेन्स, एसटीसी ग्यास, चामल, दाललगायतमा लगानी गरी मुलत: रोजगारी सृजनामा ठूलो योगदान पुर्याउँदै आएको छ । हिमालय प्याकेजिङमा पाँच सयभन्दा बढी कर्मचारी छन्, जहाँ ९०% प्रतिशत भन्दा बढी महिला छन् । विदेशी मुद्रालाई प्रतिस्थापन गर्नुपर्छ, विदेशी मुद्रा खर्च जोगाउनुपर्छ, देशभित्रै उद्योगकै व्यवस्थाहरू लागू गर्ने किसानलाई ‘भ्यालु एडिसन’ हुने कामहरू गरेर विभिन्न कृषि उपजहरूको बजारीकरणतर्फ साल्ट ट्रेडिङले कारोबार गरेर आफ्नो व्यापार पनि वृद्धि गर्यो । अहिले पनि आम नेपाली जनताको सेवामा समर्पित रहँदै आएको छ ।
(झा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।)
FACEBOOK COMMENTS