काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले आयोडिनयुक्त नुन खाँदा कुनै पनि समस्या सृजना नहुने स्पष्ट पारेको छ ।
आयोडिनयुक्त नुनको उत्पादन, ढुवानी, भण्डारण, वितरण र उपभोगका सम्बन्धमा जनचेतना जगाउनका लागि आजदेखि सुरू भएको महिनाव्यापी अभियानको अवसरमा विज्ञप्ति जारी गर्दै मञ्चले आयोडिनयुक्त नुन सेवन गर्दा थाइराइड र रक्तचापजस्ता समस्या ननिम्तिने स्पष्ट पारेको हो । कण्ठ (घाँटी) मा आउने रोगअन्तर्गत गलगाँड र सुस्त मनस्थिति, लुलो, लङ्गडो र लठेब्रोका रोगीलाई फाइदा पुग्ने उद्देश्यले नेपालमा आयोडिनयुक्त नुनको सेवन गराउन थालिएको भन्दै मञ्चले बजारमा आउने हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।
‘अहिले बजारमा व्यापक रूपमा विभिन्न किसिमका हल्लाहरू आइरहेको छ । विशेषत: आयोनुन खाएर थाइराइडको समस्या व्यापक हुन लाग्यो । नुन ज्यादै खाँदा रक्तचापका बिरामी बढी भयो आदि आदि । यी हल्लाहरूमा जति तर्क र यथार्थता हुनुपर्ने हो त्यो पटकै पाइएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हल्लाकै भरमा आम नेपालीहरू अझ सञ्चार माध्यमहरू समेत भ्रमित हुँदा आम जनतामा अन्यौल सृजना हुनु स्वाभाविक नै हो ।’
बजारमा आएका हल्लाहरूबाट जोगिनका लागि दुईवटा पक्ष बुझ्न अत्यन्त जरुरी रहेको भन्दै मञ्चले भनेको छ, ‘पहिलो हो खाद्य ऐन, २०२३ अन्तर्गत खाद्य गुणस्तर मापदण्ड । यो मापदण्ड धेरै पटक संशोधन भए पनि नेपाल राजपत्रको भाग ३ मिति २०५७/१०/२३ ले आयोडिनयुक्त नुनको गुणस्तर अनिवार्य मापदण्ड तोकिएको छ । जस अनुसार सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत भन्दा घटी हुन नहुने र आयोडिनको मात्रा ५० मिलिग्राम प्रतिकिलोग्राममा नघटेको हुनु पर्ने र बिक्रीस्तरमा ३० मिलिग्राम अनिवार्य हुनुपर्ने व्यवस्थाछ ।
दोस्रो कुरा यो मापदण्ड तयार हुँदा नेपालको कुल जनसंख्या १ करोड ३६ लाख मात्र थिए र शहरीकरणको अवस्था हेर्ने हो भने १९७० सम्म नेपालमा जम्मा १६ वटा नगरपालिकाहरू थिए । अहिले ७५३ पालिकाहरूमध्ये करिब आधाको संख्यामा नगरपालिकाहरू भइसकेको र त्यसमध्येमा पनि ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको स्थापना भई सकेको अवस्था छ । यसरी देशमा व्यापक रूपमा बढ्दै गएको शहरीकरणको साथै नागरिकमा खाद्य वस्तुको उपभोग गर्ने बानीमा पनि व्यापक परिवर्तन भई सकेको छ ।’
खानेबानी परिवर्तनका साथै जङ्कफुडहरूको व्यापक प्रयोग समेत भइरहेको अवस्थामा हरेक खाने कुरामा प्रयोग हुने नुनमा आयोडिनको मात्रामा पनि मिश्रण हुने र त्यो मानव शरीरमा पुग्दा त्यसले नकारात्मक असर अवश्य पनि पुग्ने भन्दै मञ्चले अति केही पनि उपभोग नगर्न अनुरोध समेत गरेको छ ।
आज फेब्रुअरी १ अर्थात् विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपाललगायत विश्वका अधिकांश देशहरूले फेब्रुअरी महिनाभर आयोडिनयुक्त नुनको उत्पादन, ढुवानी, भण्डारण, वितरण र उपभोग सम्बन्धमा जन चेतना जगाउनका लागी विश्वव्यापीरूपमा उपभोक्ता जागरण गर्ने उद्देश्यले मनाउँदै आएको महिनाव्यापी प्रचार अभियानको पहिलो दिन हो । नेपाल सरकारले देशैभर आफ्नो संयन्त्रहरूमार्फत नागरिकलाई सचेतना जगाउने काम विगत लामो समयदेखि गर्दै आएको छ भने राष्ट्रिय उपभोक्ता मञ्चले आफ्नो स्थापनाकालदेखि नै अर्थात् लगातार १८ वर्षदेखि केन्द्र र जिल्लाहरूमा विविध कार्यक्रम गर्दै अभियान सञ्चालन गर्दै आएको छ ।
विश्व खाद्य संगठनद्वारा आह्वान र मापदण्डबमोजिम बि.सं. २०२० देखि नेपाल सरकारले आम नेपालीले उपभोग गर्ने नुनमा आयोडिन मिश्रण गरी वितरण गर्ने कार्य गर्दै आएको छ । कण्ठ निवारण कार्यक्रममार्फत नेपालमा आयोडिनयुक्त नुनको बिक्रीवितरण साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत विगत ६० वर्षदेखि सरकारले दुर्गम क्षेत्रहरूमा ढुवानी अनुदान समेत दिई बिक्रीबितरण गर्दै आएको छ ।
६० वर्षअगाडि नेपालमा कण्ठरोग अन्तर्गतकै गलगाँड जस्ता समस्या व्यापक रूपमा समाजमा थियो भने सुस्त मनस्थिति, लुलो, लङ्गडो र लठेब्रोका रोगी व्यापक रूपमा हुन्थ्यो भने अहिले त्यसमा सुधार भएको र नेपाल दक्षिण एशिया राष्ट्रहरूमा आयोडिनयुक्त नुनको उचित उपभोग गर्ने देशमा पर्न सफल भएको विश्व स्वास्थ्य संगठनले जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS