काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान पुग्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले इरानले शनिबार होर्मुज जलडमरुमा गोलीबारी गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । उनले जलडमरु बन्द गर्दा इरानले दैनिक करिब ५० करोड अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्नु परेको दाबी गरेका छन् भने अमेरिकालाई कुनै क्षति नभएको उल्लेख गरेका छन् ।
ट्रम्पले इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरेमा उसका ऊर्जा केन्द्र र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी पनि दिएका छन् ।
यसैबीच अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको युद्धविराम वार्ताअघि पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा सुरक्षा बल परिचालन गरिएको, पर्यटकीय स्थल बन्द गरिएको र ठूला होटलहरूलाई बुकिङ रद्द गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाइएको छ ।
औपचारिक घोषणा नभए पनि अधिकारीहरूले वार्ताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यस्थतामा संलग्न एक क्षेत्रीय अधिकारीका अनुसार अमेरिकी अग्रिम सुरक्षा टोलीहरू समेत इस्लामाबाद पुगिसकेका छन् ।

