काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच ‘पूर्ण युद्धविराम’ भएको घोषणा गरेका छन् ।
यस घोषणाका बारेमा अहिलेसम्म इजरायलतर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यद्यपि, इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले यदि इजरायलले आक्रमण रोके आफूहरूले पनि जवाफी कारबाही बन्द गर्ने बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत आउँदो २४ घण्टामा युद्ध आधिकारिक रूपमा समाप्त हुने बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘यो यस्तो युद्ध हो जुन वर्षौंसम्म चल्न सक्थ्यो र सम्पूर्ण मध्यपूर्वलाई नष्ट गर्न सक्थ्यो, तर यस्तो भएन र कहिल्यै हुने छैन ।’
राष्ट्रपति ट्रपले इजरायल–इरान द्वन्द्वलाई ‘१२ दिने युद्ध’ भनेका छन् ।
इरानको प्रतिक्रिया
इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले यदि इजरायलले सैन्य अभियान बन्द गर्यो भने इरानका तर्फबाट पनि कुनै प्रकारको जवाफी कारबाही गर्ने इरादा नरहेको बताएका छन् ।
उनले एक्समा पोष्ट गर्दै यदि इजरायलले आफ्नो ‘अवैध आक्रमण’ रोक्छ भने इरानको तर्फबाट पनि ‘प्रतिक्रिया जारी राख्ने कुनै इरादा नरहेको’ बताएका छन् ।
उनले भनेका छन्, ‘अहिलेसम्म कुनै युद्धविराम वा सैन्य अभियान समाप्तिको सम्झौता भएको छैन । तर, यदि इजरायली शासनले इरानी समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्छ भने हामी पनि कुनै जवाफी कारबाही गर्ने छैनौँ ।’
अराघचीले इरानका तर्फबाट सैन्य अभियान बन्द गर्ने अन्तिम निर्णय पछि हुने बताएका छन् ।
एक जना वरिष्ठ अमेरिकी प्रशासनिक अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायल र इरान दुबैले युद्धविराममा सहमति जनाएका छन् ।
रिपोर्टअनुसार ट्रम्पले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग प्रत्यक्ष कुराकानी गरेका थिए । त्यसक्रममा इजरायलले आक्रमण गर्दैन नगर्दासम्म इरान युद्धविराममा रहन सहमत भएको छ ।
वरिष्ठ इरानी अधिकारीहरूले पनि इरानले युद्धविराम स्वीकार गरेको बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफले इरानी अधिकारीहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट कुराकानी गरेपछि युद्धविराम सम्भव भएको बताइएको छ ।
FACEBOOK COMMENTS