काठमाडौं । इरान र इजरायलबीच विगत ७२ घण्टादेखि युद्ध भइरहेको छ । इजरायलले आइतबार इरानी विदेश मन्त्रालयमा आक्रमण गरेको थियो । जसमा धेरै जना घाइते भएको बताइएको छ । यसको एक दिनअघि इरानी रक्षा मन्त्रालयमा पनि आक्रमण भएको थियो ।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने एक हजार २७७ जनाभन्दा बढी घाइते भएका छन् ।
यसैबीच, अमेरिकामा रहेको मानव अधिकार कार्यकर्ता समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ । त्यस्तै, इरानले इजरायलमा सयौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यी आक्रमणहरूमा १४ जनाको मृत्यु भएको छ भने ३८० जना घाइते भएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच चाँडै सम्झौता हुने दाबी गरेका छन् । ट्रम्पले इजरायल र इरानबीचको युद्ध रोक्ने बताएका छन् । ट्रम्पले यस्तो बताए पनि युद्ध रोक्न उनले ठोस पहल गरेको खबर आएको छैन । सोमबार बिहान पनि दुवै देश एक अर्काविरुद्धको आक्रमण जारी राखेका छन् ।
इजरायलले फेरि एक पटक फोर्डो आणविक स्थलमा आक्रमण गरेको बताइएको छ । इरान इन्टरनेशनलको रिपोर्टअनुसार इरानको फोर्डो आणविक स्थल नजिकै ठूलो विस्फोट भएको छ । इजरायलले जुन १४ मा पनि फोर्डो स्थलमा आक्रमण गरेको थियो ।
त्यस्तै, इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोप्र्सको गुप्तचर सङ्गठनका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको बताइएको छ । उनका उप–हसन मोहकिक र अर्का गुप्तचर अधिकारी मोहसिन बघेरी पनि यी आक्रमणहरूमा मारिएका छन् । काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ । यसअघि पनि कोर्प्सका प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए ।
FACEBOOK COMMENTS