काठमाडौं । इजरायल र इरानबीच चलिरहेको द्वन्द्वमा इरानले ठूलो मानवीय क्षति बेहोरेको छ । यस युद्धमा इरानले आफ्ना शीर्ष सैन्य कमाण्डरहरू मात्र गुमाएको छैन, धेरै आणविक प्लान्टहरू र महत्त्वपूर्ण सैन्य अड्डाहरू पनि ध्वस्त भएका छन् ।
यसैबीच, मङ्गलबार इजरायली सेनाले अर्का शीर्ष इरानी कमाण्डर अली शादमानीलाई पनि मारेको छ । इजरायलको निरन्तर आक्रमणका कारण इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी एक्लो भएका छन् ।
मङ्गलबार इजरायली सेनाले पाँच दिनमा दोस्रो पटक इरानको युद्धकालीन प्रमुखलाई मारेको दाबी गरेको छ । इरानका सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीका निकटतम सैन्य सल्लाहकार अली शादमानीको सही गुप्तचरको आधारमा मध्य तेहरानमा भएको इजरायली आक्रमणमा मृत्यु भएको छ । शादमानी इरानको सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए । उनले चार दिनअघि मात्र यो पद सम्हालेका थिए । इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो । मेजर जनरल गुलाम अली रशिदको गत शुक्रबार मृत्यु भएको थियो ।
यससँगै, इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी एक्लिँदे गएका छन् । गुप्तचर रिपोर्टका अनुसार खामेनीका धेरै प्रमुख सैन्य र सुरक्षा सल्लाहकारहरू इजरायली हवाई आक्रमणमा मारिएका छन्, जसका कारण उनको आन्तरिक सल्लाहकार टोलीमा मानिसहरूको ठूलो अभाव छ, जसको प्रभाव नेतृत्वमा पनि देखिँदै छ । यी व्यक्तिहरूको मृत्युपछि रणनीतिक गल्ती हुने सम्भावना बढेको छ ।
गत शुक्रबारदेखि धेरै वरिष्ठ सैन्य कमाण्डरहरू मारिएका थिए । यसमा इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्सका कमाण्डर हुसेन सलामी, ब्यालिस्टिक मिसाइल कार्यक्रम प्रमुख र हवाई क्षेत्र प्रमुख अमिर अली हाजिजादेह र गुप्तचर प्रमुख मोहम्मद काजमी मारिएका थिए । इजरायलले धेरै पहिलेदेखिको गुप्तचर सूचनाका आधारमा उनीहरूलाई निशाना बनाएको मिडिया रिपोर्टमा उल्लेख छ । उनीहरू सबै खामेनीको लगभग १५–२० जनाको आन्तरिक सल्लाहकार टोलीको हिस्सा थिए, जसले महत्त्वपूर्ण निर्णयहरूका लागि खमेनीको सल्लहाकारको काम गर्दथे ।
खामेनीको सल्लाहकार बोर्डमा इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्सका वरिष्ठ अधिकारीहरू, धार्मिक नेताहरू र राजनीतिज्ञहरू हुने गर्दछन् । तिनीहरूको खामेनी र इरानी इस्लामिक विचारधाराप्रति अटल वफादारी छ । जब खामेनीले कुनै प्रमुख निर्णय लिनुपर्छ, खामेनीको कार्यालयले सम्बन्धित सल्लाहकारहरूलाई तेहरानस्थित आफ्नो परिसरमा बोलाउँछ ।
इरानी संविधानअनुसार खामेनीसँग सेनाको सर्वोच्च कमान्ड, युद्ध घोषणा गर्ने अधिकार र वरिष्ठ अधिकारीहरूलाई नियुक्त गर्ने वा बर्खास्त गर्ने पूर्ण अधिकार छ । यद्यपि, अन्तिम निर्णयअघि उनले आफ्ना सल्लाहकारहरूको कुरा ध्यानपूर्वक सुन्छन् र निर्णय गर्नुअघि थप जानकारी लिने गर्दछन् । अब भने एकै पटक यति ठूलो सङ्ख्यामा सैन्य नेतृत्व गुमाउँदा खामेनी एक्लो भएको विश्लेषण सुरू भएको छ ।
FACEBOOK COMMENTS