काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै यस्तो तयारी गरेको हो।
प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ। यसैक्रममा नेकपा (एस) ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो । नेकपा (एस)ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन। छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ। नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन्। जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ।
बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। ‘संसदीय दलको अध्यक्ष नेपाल भएका कारण पार्टीबाट सरकारमा जानेको टुंगो लगाउने जिम्मेवारी उहाँलाई नै दिइएको छ। सत्ता गठबन्धनबीच मन्त्रालय टुंगो लागेलगत्तै सरकारमा सहभागी हुनेछौं’, नेकपा (एस) का सांसद विरोध खतिवडाले भने। संसदीय दलको बैठक सञ्चालन खतिवडाले गरेका थिए।
बैठकमा अध्यक्ष नेपालले आफ्नो दल सरकारमा सामेल हुने जानकारी गराउँदै मन्त्रीहरूले छोटो समयमै जनताको मन जित्नेगरी राम्रो काम गर्ने उद्देश्य राख्नुपर्ने बताएका थिए। बैठकले वेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको छ। नेकपा ९एस० ले शनिबार हाइकमान्ड गठन गरी सरकारमा सहभागी हुने निर्णय गरेको थियो।
‘मन्त्रालय संख्या र पार्टीले पाउने मन्त्रालयबारे अझै टुंगो लागिसकेको छैन, सम्भवतः गठबन्धनका सबै दलबीच छलफल भएपछि अन्तिम टुंगो लाग्छ,’ नेता भुसालले भने। स्रोतका अनुसार नेपालले देउवा र दाहालसँगको छलफलमा पूर्वाधार विकास निर्माणसँग जोडिएका मन्त्रालय आफ्नो पार्टीलाई दिनुपर्ने बताएका छन्। जसअनुसार भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, सञ्चार तथा सूचना प्रविधि, भूमि व्यवस्था तथा सहकारी र कृषि मन्त्रालय नेकपा (एस) लाई दिने विषयमा देउवा सकारात्मक बनेको स्रोतको भनाइ छ। यी सबै मन्त्रालय विकासे मन्त्रालय हुन्।
अध्यक्ष नेपालले सरकारमा पठाउन अहिलेसम्म मन्त्री नभएका पुराना नेता तथा सांसदलाई पहिलो प्राथमिकतामा राखेका छन्। जसअनुसार विरोध खतिवडा, मेटमणि चौधरी, वेदुराम भुसाल, प्रेम आले, पार्वती बिशुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठसहितका सांसद प्राथमिकतामा छन्।
पहिलो चरणमा नपर्ने सांसदलाई दोस्रो चरणमा मन्त्रीमा पठाउने र कतिपयलाई उपसभामुख, संसदीय समितिको नेतृत्वलगायतमा व्यवस्थापन गर्ने वचन नेपालले सांसदहरूलाई दिएका छन्। अहिले चर्चामा रहेकै नेताहरूलाई सरकारमा सहभागी गराउने नेपाल निकट स्रोतले जनाएको छ। सांसद सरला यादवले उपसभामुखमा दाबी गरेकी छन्। भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन पनि कुनै न कुनै भूमिकाको खोजीमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS