काठमाडौं । अन्तरजातीय प्रेमकथामा आधारित भएर निर्माण हुने तयारीमा रहेको फिल्म ‘जदौ’ मा मोडल तथा अभिनेता प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् ।
पछिल्लो समय ब्यस्त र चर्चित अनुहारका रुपमा रहेका प्रभातपालले यस फिल्ममा अभिनेत्री नीति शाहसँग स्क्रिन शेयर गर्ने भएका छन् ।
फिल्मको निर्देशनको जिम्मा कसले सम्हाल्ने भन्ने सार्वजनिक नगरिए पनि लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् । ‘जदौ’ का लागि प्रभातपालसँगै मुकुन भुसाल, ऋचा शर्मा र बिनोद न्यौपाने जस्ता चर्चित कलाकारहरु पहिल्यै अनुबन्धित भइसकेका छन् । प्रभातपालले वरिष्ठ कलाकारहरुसँग एउटै पर्दामा देखिन पाउनु आफ्ना लागि ठूलो अवसर भएको बताउँदै भूमिकालाई न्याय दिन विशेष तयारीमा जुटेको बताएका छन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्ममा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री सह-निर्माताका रुपमा रहनेछन् । बुद्धि माझीले निर्माण व्यवस्थापन सम्हाल्ने ‘जदौ’ को छायांकन भदौ पहिलो साताबाट सुरु हुने प्रबन्ध निर्देशक बिमला भण्डारीले जानकारी दिएकी छन् ।
फिल्ममा बाबुल गिरीको संगीत तथा श्याम तामाङको छायांकन रहनेछ । दाङ र प्युठानका रमणीय स्थलहरुमा फिल्म खिचिने तयारी छ । निर्माण टिमले केही दिनमै पत्रकार सम्मेलन गरी फिल्मबारे थप विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS