रूपन्देही । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा गरेका हुन् ।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
“देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।
यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गरेका छन् ।

सोमबार नेकपा (एमाले)रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरु भुमिस्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,बासुदेब घिमिरे, प्रमोद यादब, हरिप्रसाद अधिकारि, उमा काफ्ले, अनुप बराललगायतले उनलाई स्वागत गरेका थिए ।

FACEBOOK COMMENTS