काबुल । तालिवानले दर्जनौं बन्दीको टाउको काटेर सार्वजनिक स्थानमा प्रदर्शन गरेको विवरण सार्वजनिक भएको छ । राष्ट्रसंघले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो ।तालिवानले आफ्नो हातमा सत्ता लिएपछि १०० जना भन्दाबढी पूर्वसुरक्षाकर्मी र अन्य व्यक्तिको हत्या गरेको राष्ट्रसंघको मानव अधिकारसम्बन्धी परिषद्ले जनाएको छ ।
तालिवानले खोर्सान प्रान्तमा इस्लामिक स्टेटका ५० जना कार्यकर्ताको हत्या गरेको राष्ट्रसंघका सहायक उच्च आयुक्त नाडा अल–नसिफले जानाकारी दिइन् । खोर्सान प्रान्तमा सक्रीय इस्लामिक स्टेट–खोर्सान ९आइएस–के० लाई तालिवानले मुख्य दुश्मनका रुपमा लिने गरेको छ । तालिवानले उनीहरुलाई झुन्डाएर र टाउको काटेर हत्या गरेको प्रतिवेदनमा दर्शाइएको छ ।
१५ अगस्टमा सत्तापलट गरेपछि विरोधीलाई आममाफी दिने घोषणा गरे पनि तालिवानले निरन्तर पाशविक हत्या गरेको अल–नासिफले बताइन् ।
‘अगस्ट र नोभेम्बरमा तालिवानले पूर्वराष्ट्रिय सुरक्षा फौज र पूर्वसरकारसँग सम्बन्धित १०० भन्दा बढी व्यक्तिको हत्या गरेको छ ’ राष्ट्रसंघको मानव अधिकार परिषद्मा उनले भनिन् ।
हत्यापछि तालिवानले शव यत्रतत्र छरेको उनले बताएकी छिन् । ‘कतिपय अवस्थामा हत्या गरिएपछि धेरैको शव सार्वजनिक स्थानमा प्रदर्शनमा राखेको पाइएको छ । तालिवानको यस्तो व्यवहारले सर्वसाधारणमा त्रास सृजना भएको छ, ’ उनले भनिन् ।
FACEBOOK COMMENTS