काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रमुख राजनीतिक दलहरूले नै मुलुकको सङ्घीय गणतान्त्रिक शासन व्यवस्था असफल बनाएको बताएका छन् ।
भक्तपुरमा आइतबार आयोजित पार्टीको ‘मध्यमाञ्चल विकास क्षेत्र’ समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रभित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणामस्वरूप विद्यमान व्यवस्था स्वतः धराशयी हुने अवस्थामा पुगेको र त्यसको मुल कारण तीन ठूला राजनीतिक दलहरू भएको बताएका हुन् । प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिको कारण सङ्घी धर्मनिरपेक्ष गणतन्त्र असफल भएको उनको टिप्पणी छ ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रबाट आएको सन्देश देशलाई सङ्कटबाट मुक्त तुल्याउने सदासयताका साथ आएको राष्ट्रिय मेलमिलापको प्रस्ताव भएको चर्चा गर्दै उनले यो प्रस्तावलाई सकारात्मक रूपमा लिएर हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना एवम् सङ्घीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरूलाई आग्रह समेत गरे ।
थापाले राजासहितको प्रजातन्त्र भनेको निरंकुश व्यवस्था नभएको भन्दै राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउने विचार प्रकट गरे । उनले राजाको सन्देश प्रजातन्त्र, बहुदलीय संसदीय व्यवस्था र दलहरूको विरुद्धमा नभएको समेत स्पष्ट पारे । देशलाई सङ्कटबाट मुक्त तुल्याउन राजाले सहयोगको लागी गरेको आह्वानलाई राप्रपा नेपाल स्वागत गर्ने उनको धारणा थियो ।
राष्ट्रले भोग्नुपरेको सङ्कटबाट मुक्तिको निम्ति राजाले सहयोग मागेको बेलामा पनि राजावादी, हिन्दुवादी र राष्ट्रवादीहरू एकठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ । अर्को तर्फ केही अराजक तत्वहरूबाट राजा र हिन्दुराष्ट्रको नाम लिँदै तथा गैरजिम्मेवार वक्तव्य दिने, परिस्थितिलाई उत्तेजित बनाउने एवम् राजा र दलहरूबीचको सम्बन्ध बिगार्ने काम हुनु उदेकलाग्दो भएको भन्दै थापाले यस्तो प्रवृत्ति हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको सम्भावना खलबल्याउने षडयन्त्र हुन सक्ने आशङ्का गरे ।
थापाले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा निरन्तर सशक्त ढङ्गले संघर्ष गरी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल जस्ता स्थापित शक्तिहरूको विकल्पमा केही अराजक, गैरजिम्मेवार र अराजनीतिक समूहलाई उचाल्ने काम रहस्यमय छ । राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको क्रममा यस्तो कार्य अत्यन्त घातक र आत्मघाती हुन्छ हुने उनको दाबी थियो ।
FACEBOOK COMMENTS