काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ । बैंकले साधारणसभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा बोलाएको हो ।
सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२र८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
जसअनुसार अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा अन्य शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव रहेको बैंकले जनाएको छ ।
त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२र८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावमा समेत निर्णय गर्ने जनाइएको छ । बैंकले गत आर्थिक वर्षमा बोनस शेयर र नगद लाभांश गरी कुल १५।७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसपटक लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।