काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ ।
कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट संचालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । कम्पनीले जारी पूँजीको १४ दशमलव ८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो ।
सन् २०१८ सालमा स्थापित यो कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गर्दै आइरहेको छ । जीएमपी, एफएएआई क्युएस जस्ता प्रमाणीकरण प्रमाणपत्र प्राप्त कम्पनी हो । हाल कम्पनीले औषधी व्यवस्था विभागबाट ६१ वटा औषधीहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्र प्राप्त गरि नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ र अन्य औषधीहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुको समेत उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ । नेपाल तथा अन्तर्राष्ट्रिय बजारको पशु स्वास्थ्यमा योगदान पुर्याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेका यस कम्पनीले भेटरीनेरी औषधी उद्योगहरु अन्तर्गत सर्वसाधारणहरुमा शेयर निष्काशन गर्ने यो पहिलो औषधि उद्योग हो ।
FACEBOOK COMMENTS