काठमाडौं । नेपालको डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले वर्ल्ड समिट अवार्ड (डब्ल्यूएसए) प्राप्त गरेको छ । नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले एड्रेसग्राफ नेपाल प्रालिमार्फत तयार गरेको डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले स्मार्ट बस्ती र शहरीकरण विधामा छनोट भई पुरस्कार प्राप्त गरेको हो ।
डब्ल्यूएसएले संयुक्त राष्ट्रसंघले अघि सारेका दिगो लक्ष्य प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकास भएका उत्कृष्ट प्रविधिहरूको चयन गरी हरेक वर्ष पुरस्कार दिने गर्दछ । बिहीबार राति डब्ल्यूएसएले आधिकारिक वेबसाइटमा उक्त घोषणा गरेको हो । यस वर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहबीच भारतको हैदराबादमा हुने डब्ल्यूएसएले जनाएको छ ।
‘कताहो’ ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ । अफलाइनमै ठेगाना कोड खोज्न सकिने ‘कताहो’ प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्डभित्र कुनै स्थानको कोड बोलीकै माध्यमबाट शेयर गर्न सकिन्छ । यो प्रणाली प्रयोग गरी हालसम्म १०,००० भन्दा बढीले ठेगाना पाटी तयार गरिसकेका छन् ।
यो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्दछन् । विभिन्न स्थानीय निकायहरूले यस प्रणालीमार्फत ठेगाना प्लेटका साथै विपत व्यवस्थापनमा सूचना दिन सकिने आपतकालीन प्रतिक्रिया कन्सोलसमेत जडान गर्दै आइरहेका छन् । डब्ल्यूएसएका अनुसार यस ‘कताहो’ ठेगाना प्रणालीले संयुक्त राष्ट्रसंघका दिगो लक्ष्य प्राप्त गर्ने विभिन्न विधामध्ये ६ वटा लक्ष्यका लागि यस प्रणालीले योगदान गर्न सक्ने भनी उल्लेख गरेको छ ।
नेपालबाट यसअघि सन् २०२२ मा ‘नागरिक एप’ ले सरकार र नागरिक संलग्नता विधामा उक्त पुरस्कार प्राप्त गरेको थियो ।
डब्ल्यूएसए एक विशेष पुरस्कार प्रणाली हो जसले संयुक्त राष्ट्रसंघले अघि सारेका दिगो लक्ष्य प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकास भएका प्रविधिहरूको चयन गरी त्यसको प्रवर्द्धनका लागि काम गर्दछ ।
विश्वस्तरमा प्रभाव पर्ने गरी तयार गरिएका स्थानीय नवप्रवर्तनको चयन गरी त्यसलाई विश्वव्यापी बनाउन यो पुरस्कार प्रदान गर्ने गरिन्छ । डब्ल्यूएसएले हरेक वर्ष विश्वभरबाट विभिन्न विधामा उत्कृष्ट परियोजनाहरूलाई सम्मान गर्ने गर्दछ ।
विजेताहरू छनोटका लागि विश्वभरका १८२ देशका डब्ल्यूएसएका राष्ट्रिय विज्ञहरूको सिफारिसमा स्थानीय नवप्रर्वतनहरू छनोट गरिन्छ । यी नवप्रवर्तनहरूलाई अनलाइन जुरीमा पठाइन्छ, जसले पहिलो सूची तयार गर्दछ । पहिलो सूचीमा सूचीकृत भएका परियोजनालाई ग्राण्ड जुरीले अनलाइन अन्तर्वार्ता लिन्छन् र अन्तिम विजेताहरू चयन गर्दछ । यस वर्ष विश्वभरबाट ४० वटा परियोजनाले विभिन्न विधामा डब्ल्यूएसए अवार्ड प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS