आश्विन २ ,काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन् । शाक्यले गृहवडा २१ को इनाखामा अवस्थित गणेश मन्दिर उद्घाटन गर्दै ३२ वटै वडामा सम्पदा निर्माण–पुनर्निर्माणलाई प्राथमिकता दिएको बताए । ‘महानगरले भएका सम्पदा संरक्षण सम्वर्द्धन गर्ने र पर्यटनसँग जोड्नमात्रै होइन, नयाँ सम्पदा निर्माण अभियानलाई पनि अघि बढाएको छ,’ शाक्यले भने ।
उनले महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचनालाई जीवन्त राख्नका लागि प्रयास गरिरहेको बताए । ‘काठमाडौं मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किनेबित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौं बाहिरका मन्दिरको दर्शन गर्न बर्सेनी लाखौं काठमाडौंवासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’
उनले त्यसको अन्त्य गर्दै काठमाडौं आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए । उनले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वर्द्धन गरी काठमाडौं घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि स्मरण गराए । ‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस् र यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा निर्माण–पुनर्निर्माणको अभियानमा अघि बढेका छौं,’ उनले भने, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौं।’
प्रमुख शाक्यले गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिने हो भने ती स्थानमा खुलापार्क र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने बताए ।

