काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको लागि खरिद गर्ने खसीबोकको कोटा घटाएको छ ।
अघिल्लो वर्ष कम्पनीले ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने कोटा रहेकोमा २ हजार २०१ मात्रै खसीबोका ल्याएको थियो ।
यो दसैँमा १ हजार ८ सय वटा खसीबोका र च्याङ्ग्रा खरिद गर्ने निर्णय खाद्यले गरेको हो । उक्त खसीबोका खरिद गर्न ३ करोड ६९ लाख बजेट विनियोजन भएको कम्पनीले बताएको छ । गत वर्ष ल्याइएको सबै खसीबोका नबिकेपछि यस वर्ष कोटा घटाएको खाद्य व्यापार कम्पनीले बताएको हो ।
यो वर्षको दसैँको लागि १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने निर्णय भएको कम्पनीका प्रमुख अधिकृत रमेश आचार्यले बताएका छन् । व्यापार गर्ने उद्देश्यले भन्दा पनि सरकारी निकायको बजारमा उपस्थिति जनाउनमात्र कम्पनीले यस पटक खसीबोका र च्याङ्ग्रा कम ल्याउने निर्णय गरेको बताइएको छ ।
गत वर्ष कम्पनीले दसैँलाई खसीबोका र च्याङ्ग्रा खरिद गर्न ८ करोड ३३ लाख बजेट छुट्याएको थियो । गत वर्ष कम्पनीले ल्याएका ३१ वटा खसीबोका मरेको पनि खाद्यले बताएको छ । ५ सय ४२ वटा च्याङ्ग्रा ल्याएकोमा २० वटा मरेका थिए । गत वर्ष दसैँका लागि ल्याएका खसीबोका र च्याङ्ग्रा बिक्री नभएर मरेको हुँदा यस पटक कोटा घटाएको कम्पनीले बताएको छ ।
यो दशैको लागि कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएकोमा २ करोड ४९ लाख रुपैयाँका खसीबोका र १ करोड ३० लाखका च्याङ्ग्रा खरिद गर्ने योजना बनाएको छ । गत वर्ष कम्पनीले दसैँलाई लक्षित गरी ल्याएका च्याङ्ग्रा बिक्री नहुँदा लामो समयदेखि व्यापार कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयको खोरमा राख्नुपरेको थियो ।
गत वर्ष कार्यालयले दसैँमा निर्धारण गरेको मूल्यमा च्याङ्ग्रा बिक्री नभएपछि पटक पटक नयाँ मूल्य निर्धारण गरी बिक्री गरेको थियो । त्यतिखेर च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २६० रुपैयाँ निर्धारण गरिएको थियो । जसमा १० प्रतिशत छुट दिएर १ हजार २५० रुपैयाँमा बिक्री गरिएको थियो ।
कम्पनीले दसैँका लागि तुलसीपुर, वीरगन्जलगायत स्थानबाट खसीबोका खरिद गर्ने गरेको छ भने दार्चुला र हिमाली जिल्लाहरुबाट च्याङ्ग्रा ल्याउने गरेको छ । खाद्य कम्पनीले हरेक वर्षको दसैँतिहारलाई लक्षित गरी खसीबोका र च्याङ्ग्रा विभिन्न जिल्लाबाट संकलन गरी काठमाडौंमा बिक्री गर्दै आएको छ ।
चाडपर्वमा व्यापारीले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई मध्यनजर गर्दै बजारमा मूल्य हस्तक्षप गर्ने उद्देश्यले विगत लामो समयदेखि बाहिरी जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरिद गरी राजधानीमा बिक्री गर्ने गरेको छ । कम्पनीले यो वर्ष पनि यसलाई निरन्तरता दिने बताएको छ ।
FACEBOOK COMMENTS