धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको आज दिउसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने तयारीसमेत मुख्यमन्त्री भट्टले गरेका छन् । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
केन्द्रमा भएको सहमति अनुसार नेकपा नेता भट्ट साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभामा नेकपा र एमालेको स्पष्ट बहुमत रहेको छ । ५२ सदस्यीय प्रदेश सभामा नेकपाका २२ र एमालेका ११ सांसद रहेका छन् ।