काठमाडौं । आईएमई–पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आईएमई’ बनेको छ । यी दुई फिनटेक कम्पनीबीच भएको मर्जरलाई सार्थक रूप दिँदै आज साउन १ गतेदेखि संयुक्त कारोबारसमेत आरम्भ गरेका छन् ।
दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा आज आयोजित भव्य समारोहकाबीच नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले संयुक्त कारोबारको उद्घाटन गरे । आम प्रयोगकर्तालाइृ थप विश्वसनीय र सर्वसुलभ सेवा प्रदान गर्न दुई संस्थाबीच ऐतिहासिक मर्जर गरिएको आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले मर्जरमा जाने डिसिजन गर्नु अत्यन्तै पीडादायी हुने बताए । आफू र आफू संलग्न संस्थाहरूले अन्य धेरै संस्थाहरूसँग मर्जर गरिसकेको र त्यसले धेरै अनुभव दिलाइसकेको भन्दै उनले भने, ‘मर्जरको दिनमा एग्रिमेन्ट गर्ने कुराहरू निकै गाह्रो कुरा हो । गर्ने कि नगर्ने भन्ने बहुत द्विविधा हुन्छ । साँच्चै भन्ने हो भने त्यो बेलासम्मचाहिँ पेनफुल डिसिजन नै हो ।’
यसै सन्दर्भमा उनले विगतमा मर्जरका लागि जनता र मेगा बैंकसँगको छलफल र भेटघाटको घटनालाई कथाका रूपमा सुनाउन पनि भ्याए । उनले मेगासँग ‘मिटिङ बुक’ गरेर जनता बैंकसँग मर्जर सहमति टुङ्ग्याएको घटनालाई कथाका रूपमा स्मरण गरे ।
…त्यतिबेला बैंकहरूबीच मर्जरको लहर चलेको थियो । ग्लोबल आईएमई बैंकले चाहे कमर्सियल बैंक होस्, चाहे विकास बैंक होस् वा फाइनान्स कम्पनी जे भए पनि मर्जरमा जाने वातावरण बनाइरहेको थियो । कुनै समय हामी मर्जरको प्रक्रियामा रहेका थियौँ ।
हामीसँग दुईवटा विकल्प थियो । अहिले मलाई यहाँ भन्नलाई केही गाह्रो छैन । एउटा जनता बैंक र अर्कोचाहिँ मेगा बैंक ।
त्यो अघिल्लो दिनको कुरा थियो । र मेगा बैंकको डाइरेक्टर साहेबले मलाई ८ बजे याक एण्ड यती होटेल ब्रेकफास्टसहित मिटिङ गर्ने भन्नुभयो । र इन विटुइनमाचाहिँ जनता बैंकका डाइरेक्टर साहेबले पनि एक पटक कुरा गरौँ न भनेर भन्नुभयो । अनि मैले साढे ८ बजे अर्को मिटिङ छ भनेँ ।
उहाँहरूले ७ बजे नै तत्कालीन साङ्ग्रिला होटेलमा बसौँ भन्नुभयो । सायद मेगासँग साढे ८ बजे मिटिङ राखेको कुरा उहाँहरूले थाहा पाउनुभएको रहेछ कि के हो । र हामी ७ बजे सांग्रिलामा मिटिङ बस्यौँ ।
वास्तवमा यो मर्जर त्यति सहज पनि छैन । अध्यक्ष को हुने, सीईओ को हुने, बोर्डमा कताबाट कति बस्ने, स्वाप रेसियो के हुने, म्यानेजिङ डाइरेक्टर को हुनेलगायत विषय मर्जका जटिल पक्ष हुन् । तर, त्यो ७ बजेको बैठकमा ती सबै विषयमा कुरा टुङ्गियो । जुन चिजका लागि उता साढे ८ बजे मेगा बैंकका साथीहरू कुरिरहनुभएको थियो ।
उनले यस्तो कठिन र चुनौतीपूर्ण निर्णय लिएर आईएमई–पे र खल्तीले एकीकृत कारोबार सुरू गरेकामा खुसी व्यक्त गर्दै धन्यवाद, बधाई र सफलताको शुभकामना व्यक्त गरे । यी दुई संस्थाबीच भएको ऐतिहासिक मर्जरले मुलुकको फिनटेक मार्केटमा सकारात्मक र अमूल्य सन्देश गएको अध्यक्ष ढकालको भनाइ थियो ।
यसरी दुईवटा वालेट एउटै एपमा समेटिएपछि साविकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।
मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । यी दुई वालेट मर्जरमा जानुअघि झण्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS