रसुवा । रसुवामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो ।
देशका १५ वटा जिल्लाहरूमध्ये रसुवाका ४ हजार ५ सय ६७ जना बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । ‘१२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइने भएसँगै हामीले शिक्षा तथा समन्वय इकाईसँग समन्वय गरेर विवरण संकलन गरेका छौं, उनले भने ।
जिल्लाको ३६ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका उक्त बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन लागिएको उनले बताए । बालबालिकालाई खोप लगाउनका लागि जिल्लामा आवश्यक तयारी सुरु गरिएको उनले बताए । ‘पुस महिनामा खोप दिने गरी तयारी गर्नु भनेर मन्त्रालयबाट भनिएको छ । तयारी स्वरूप बैठक बस्ने, तथ्यांक संकलन गर्ने कार्यहरू सुरु गरेका छौं । उनले भने धेरै विद्यार्थी भएको विद्यालयबाट खोप लगाउने गरी तयारी गरिरहेका छौं ।
कोरोना भाइरसविरुद्ध लड्न बालबालिकाका लागि फाइजर, मोडर्ना र बायोटेक खोप निर्माण भएको छ । फाइजर र मोडर्नाको खोप नेपालमा आइसकेको छ । बायोटेक खोप भने आएको छैन । यसअघि फाइजर खोप काठमाडौं केन्द्रित लगाइएको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत मोडर्नाको १५ लाख खोप शुक्रबार काठमाडौं आइपुग्दैछ । यसअघि करिब २ लाख खोप नेपाल आइसकेको छ । सोही अनुसार रसुवासहित देशका १५ वटा जिल्लाका बालबालिकामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ ।
बालबालिकामा लगाइने मोडर्ना खोप २८ दिनको फरकमा दुई डोज लगाउन सकिने जनाइएको छ । यो खोप माइनस १५ देखि २५ डिग्रीमा राख्नुपर्ने हुन्छ । तर, रसुवामा २ डिग्री देखि ८ डिग्री सम्ममा मात्र राख्न सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । ‘यो खोप राख्नका लागि समस्या हुने देखिन्छ, एक महिनाको मात्र समय हुने भएकाले आवश्यकता अनुसार खोप ल्याउँछौँ,ु उनले भने ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । यसअघि १८ वर्षमाथिका खोप लगाउन योग्य सबै नागरिकले पूर्ण खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
FACEBOOK COMMENTS