काठमडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेको बेला भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक वहस (पब्लिक डिबेट) गरिनुपर्ने विषयले नेपाली राजनीति थप गर्माएको छ ।
‘पब्लिक डिबेट’को प्रसङ्ग उठेसँगै शनिबार नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले उक्त डिबेटमा सहभागी हुन नेपाली कांग्रेस तयार रहेको जनाउ दिए । नेपाली कांग्रेसबाट सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएको छ । उनी सर्लाही–४ बाट निर्वाचन प्रतिस्पर्धामा छन् ।
यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान उनको आधिकारिक फेसबुकमार्फत प्रधानमन्त्रीका उम्मेदवारहरूबीच हुने उक्त डिबेटमा आफू सहभागी हुने प्रतिक्रिया दिए । झापा–५ बाट निर्वाचत प्रतिस्पर्धामा रहेका ओलीलाई नेकपा एमालेले पुन: एकपटक भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।
दुई पुराना अनि परिपक्व पार्टी कांग्रेस र एमालेका उम्मेदवारले ‘पब्लिक डिबेट’मा सहभागी भइ उठेका प्रश्नहरूको सामना गरी आ–आफ्नो धारणा र योजना सुनाउने प्रतिबद्धता जनाए पनि भावी प्रधानमन्त्रीका अतिनै चर्चित उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले भने उक्त विषयलाई अस्विकार गरेका छन् । करिब–करिब नयाँ राजनीतिक शक्तिहरूकै तर्फबाट साझा उम्मेदवारका रूपमा अघि सारिएका उनी झापा–५ बाट एमालेका केपी ओलीसँगै निर्वाचन प्रतिस्पर्धामा छन् । सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेरै उदाएका उनले केपी ओली र गगन थापासँग बसेर डिबेट नगर्ने स्पष्ट गरेका हुन् ।
डिबेटमा बालेनले जान्नँ भन्नुका कारण

‘पब्लिक डिबेट’मा सहभगाी हुन आफू तयार रहेको सन्देश दिन आज आइतबार बिहान केपी ओलीले सामाजिक सञ्जालमा एउटा ‘स्टाटस’ लेखेका थिए । उक्त स्टाटसमा ओलीले आगामी निर्वाचनको प्रतिस्पर्धा ‘देश जलाउने र देश बनाउने’का बीचमा हुन लागेको भनेर एक दृश्याङ्कन गरेका थिए । उक्त ‘स्टाटस’ आएलगत्तै बालेनले ओलीकै फेसबुकमा प्रतिक्रिया दिँदै डिबेटमा सहभागी नहुने बताएका हुन् ।

यस्तो थियो केपी ओलीको स्टाटस–

पब्लिक डिबेटको लागि तयार छौँ

नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ । यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ ।

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ । यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन् ।
देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ । यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के–के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु ।

नेकपा एमालेको दृष्टिकोणबाट ओलीले लेखेको उक्त प्रतिबद्धता सन्देशमा प्रतिक्रिया दिँदै बालेनले यस्तो वहसमा उत्रिनु भनेको आफू पनि भदौ २३ र २४ को घटनामा मुछिनु हो भन्दै यस्तो प्रतिक्रिया लेखे–
आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो !
आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?? त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।
बालेन प्रश्नसँग सधैं किन भाग्छन् ?
सरसर्ती हेर्दा बालेनको उदय ‘राजनीतिक असन्तोषको प्रतीक’ हो । तर, उनी राजनीतिक र सार्वजनिक बहस गरेर नभइ राजनीतिक निराशालाई एजेण्डा बनाएर तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई उपयोग गरेर उदाएका युवा नेता हुन् । त्यसकारण उनी प्रत्यक्ष प्रश्नको सामना गर्न अक्षम छन् वा अभ्यस्त छैनन्, त्यसैले सधैं सामाजिक सञ्जालमार्फत तीता/मीठा कुराहरू लेखेर ‘मिडिया ट्रायल’ गरिरहन्छन् ।
तसर्थ, उनी प्रत्यक्ष होस् वा परोक्ष कतै पनि मिडिया अन्तर्वार्ताहरूमा देखिँदैनन् । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि निर्वाचन प्रतिस्पर्धामा रहेका बखत बालेनले मूलधारका सञ्चारमाध्यमदेखि ‘कमेडी शो’ सम्मका ‘प्लेटफर्म’हरूलाई भरपूर उपयोग गरे । तर, मेयर पदमा निर्वाचित भइसकेपछि आम सञ्चार र सञ्चारकर्मीहरूको पहुँचबाट निकै टाढा बसे । आफूलाई समर्थन गर्ने केही युटुवरहरूलाई साथमा लिएर उनले गरेका कामको एकपक्षीय प्रचार गरिए पनि महानगरसँग सम्बन्धित आम सार्वजनिक चासोका विषयमा उनले अहिलेसम्म कतै जवाफ दिएका छैनन् ।
सार्वजनिक महत्वका विषयमा जवाफ दिनुको साटो फेसबुकमै लेखेर उनले आफ्ना कर्मचारी, वडाध्यक्ष, उपमेयर र सङ्घीय सरकारका मन्त्रालयहरूसँग टकराव सृजना गरिरहे । यसै शिलशिलामा उनले सिंहदरबार जलाइदिने र नेताहरूलाई टुकुचामा गाडिदिनेसम्मका अत्यन्तै असहिष्णु र अराजक अभिव्यक्ति समेत दिएका थिए । उनकै योजनामा सिंहदरबार जलाइएको र नेताहरूले सत्ता छोडेर हेलिकोप्टरमार्फत भाग्नुपरेको चर्चा पनि अहिले चलिरहेकै छ ।
त्यतिमात्र होइन, मुलुकका स्थापित राजनीतिक पार्टीहरू र मित्रराष्ट्र देशहरूविरुद्ध अराजक अभिव्यक्ति दिएर राजनीतिक र कुटनीतिक सम्बन्ध नै बिगार्नेसम्मको जोखिम उनले उठाउँदै आए । जनताका लागि गरिने राजनीतिमा जनताप्रति जवाफदेही बन्नु राजनीतिज्ञमा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण विशेषता हो, तर उनी त्यही विशेषताबाट भागेकोभाग्यै छन् । त्यसैको निरन्तरताका रूपमा उनले पछिल्लो समय प्रधानमन्त्रीका उम्मेदवारहरूबीच गर्ने भनिएको ‘पब्लिक डिबेट’मा आफू सहभागी नहुने बताएका हुन् । बालेनको यो अडानसँगै जनताको प्रश्नको सामना गर्नैनसक्ने व्यक्तिलाई सांसद जिताएर प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने द्विविधा सृजना भएको छ ।
कस्ता–कस्ता प्रश्नबाट भाग्दै आए बालेन ?
खासगरी काठमाडौं महानगरपालिकाको मेयर भएपछि उनले जनताका धेरै प्रश्नहरूको जवाफ दिनुपर्ने थियो, कुनै पनि प्रश्नको जवाफ दिएका छैनन् । सुकुम्बासी, अवैध संरचना, सडक विस्तार जस्ता ठूला निर्णयहरूको दीर्घकालीन योजना के हो ? कर्मचारी, वडाध्यक्ष, उपमेयर र मन्त्रालयहरूसँग बारम्बार टकराब हुनुको कारण के हो ? बजेट प्राथमिकीकरण कसरी गर्नुभयो र कहाँ–कहाँ कसरी खर्च भइरहेको छ ? भ्रष्टाचार आरोप, ठेक्का विवाद, दुर्घटना, कानुनी झमेलाहरूमा महानगरको आधिकारिक धारणा के हो ? मिडियामा किन नबोल्ने, आलोचनाबाट किन भाग्ने ? सामाजिक सञ्जालमा कटाक्ष लेखेर मात्रै हुन्छ र सिधा जवाफ दिनुपर्दैन ? लगायत कयन प्रश्नहरूबाट उनी निरन्तर टाढा रहँदै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका उनी झापा–५ बाट एमालेका केपी शर्मा ओलीसँग निर्वाचन प्रतिस्पर्धामा छन् । मनोनयन दर्ताको एकदिन अघि जनकपुरमा आयोजित भव्य आमसभामा उनले ‘यसअघि मलाई बोल्ने/भाषण गर्ने फुर्सद थिएन, मेयर पदबाट राजीनामा दिएर आएँ अब बोल्छु’ भन्ने अभिव्यक्ति दिए । हो, उनलाई बोल्ने फुर्सद थिएन, महानगरमा काम नगरेको पनि होइन, तर जनताप्रति जवाफदेही बन्नुपर्छ भन्ने हेक्का राखी आफूले गरेको कामको बारेमा जनतालाई जानकारी त दिनुपर्ला नि भन्ने सवाल उठाउँदै काठमाडौं महानगरबासी आक्रोशित हुँदै आएका छन् ।
चिप्लिन नचाहाने बालेन
अहिलेसम्म ‘स्क्रिप्टेड’ लेख्य भाषामा अभिव्यक्ति दिँदै आफ्नो राजनीतिक माहोल बलियो बनाएका बालेन साहको मनोविज्ञान प्रत्यक्ष बोलेर परिस्थिति बिगार्न नचाहेको बुझिन्छ, यो उनको सबैभन्दा बलियो रणनीति हो । यदि त्यस्तो डिबेटमा जाने हो भने उनीमाथि भदौ २३ र २४ गतेको घटनाक्रम, सिंहदरबार जलिरहँदा महानगर प्रहरीलाई मुकदर्शक बनाइएको, दमकल परिचालन नगरिएको, निरन्तर कानुनी राजको उपहास गरेकोलगायत प्रश्नको सामना गर्नुपर्ने हुन्छ, जसको जवाफ दिन बालेन असमर्थ छन् ।
यस्तै, भावी प्रधानमन्त्रीको उम्मेदवार भएका हिसाबले आर्थिक नीति, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र देशविकासको आधारभूत योजनाहरूबारे पनि पक्कै प्रश्न आउने छन् । तर, आफू लोकरिझ्याइँबाट उदाएका कारण सम्भावित प्रश्नहरूका राजनीतिक र कुटनीति जवाफ दिननसक्ने निष्कर्षका साथ पनि उनले डिबेटमा नजाने निर्णय लिएको हुनसक्छन् । किनकि राजनीति नीति, विचार, सिद्धान्त र स्पष्ट एजेण्डाबाट निर्देशित हुन्छ, जुन कुरा हाललाई रास्वपा र सो पार्टीका वरिष्ठ नेता बालेनसँग छैन । यद्यपि, उनलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने रास्वपाले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
डिबेट सकारात्मक
यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन् । देश निर्माणमा उनीहरूका ठोस नीति, योजना र कार्यक्रम के कस्ता छन् ? अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा उनीहरूको दृष्टिकोण के हो ? भन्ने जस्ता साझा बहसहरूले प्रधानमन्त्रीका उम्मेदवारहरूलाई आमनागरिकले नजिकबाट बुझ्ने अवसर पाउने छन् । त्यसबाट निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न थप सजिलो हुने छ । यस्तो बहसले लोकतन्त्र बलियो हुन्छ, त्यसकारण प्रश्नबाट कोही नभागौँ ।
FACEBOOK COMMENTS