काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा बढ्दो तापमान र वातावरणीय प्रदूषणले मानवीय जीवन र पृथ्वीको भविष्य संकटमा परेको बताउँदै यसको समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सगरमाथा संवादको पूर्वसन्ध्यामा डा. गोपालकृष्ण शिवाकोटीद्वारा लिखित पुस्तक ‘क्याइमेट कालामिटीः जस्टिस फर लस एण्ड ड्यामेज’ को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असरबाट भावी सन्ततीलाई सुरक्षित राख्न सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे ।
उनले भने‘धर्ती तातो हुँदैछ, वातावरण प्रदूषित हुँदैछ, यसले मानवीय जीवन र सुन्दर विश्वको भविष्यलाई खतारामा पार्दैछ,’ उनले थपे, ‘हाम्रा सन्ततीहरू सुरक्षित, सम्मानित र हाँसीरहेका देखिनुपर्छ, त्यसका लागि आजैदेखि काम गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनलाई आफ्नो सम्बोधनमा समेट्ने जानकारी पनि दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेल, आयोगका सदस्य डा. सूर्य ढुङ्गेल तथा जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकता र महत्वबारे समीक्षात्मक मन्तव्य राखे ।
सरकारले यही जेठ २ गतेदेखि पहिलो पटक ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको हो, जसले जलवायु संकटबारे अन्तर्राष्ट्रिय संवाद र सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS