काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) को प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले स्पेनको औपचारिक भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउन लागेका हुन् ।
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणका लागि शनिबार त्यसतर्फ जाँदै छन् ।
साँझ ६ बजे प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली स्पेन प्रस्थान गर्दै छ ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।
विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन् ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४:४५ बजे फर्कने तालिका छ ।
FACEBOOK COMMENTS