काठमाडौं । छिमेकी मुलुक भारत र पाकिस्तानबीचको द्वन्द्वबारे दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर सार्वजनिक वृत्तमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ ।
भारतीय राज्य जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि दुई देशबीच चलेको द्वन्द्व अन्त्य हुनुमा नेपालले खेलेको भूमिकाले पनि काम गरेको भन्दै ओलीले दिएको अभिव्यक्तिलाई लिएर उनको आलोचना भइरहेको हो ।
प्रधानमन्त्री ओलीले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित २६४९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै विश्व शान्तिका लागि बुद्धले दिएको उपदेश वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । साथै, भारत र पाकिस्तानले आपसको द्वन्द्व रोक्ने निर्णय गर्नुले पनि बुद्धको शान्तिको सन्देशको सान्दर्भिकता थप स्पष्ट हुने आशय प्रकट गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानबीच लडाइँ हुन नहुनेमा सुरुदेखि नै नेपालको जोड रहँदै आएको बताए । यसबारे दुई पक्षसँग कुराकानी गरेको पनि उल्लेख गर्दै उनले दुई देशले गरेको युद्धविरामको निर्णयप्रति खुसी व्यक्त गरे । साथै, युद्ध रोक्न सहमत भएकामा दुवै देशलाई धन्यवाद पनि दिए ।
‘झण्डैझण्डै केही दिनअगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले सुरूदेखि भन्यौँ, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही–केही आरोप–प्रत्यारोपको स्थिति छ ।’
ओलीले यसबारे व्यक्त गरेको आशय अझ स्पष्ट हुने गरी बुझ्न उनले व्यक्त गरेको अभिव्यक्ति एकपटक हुबहु हेरौँ–
‘समयक्रममा… बुद्धका त उपदेशहरू हुन् । ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुुभएको छ, ती विश्वका लागि महत्त्वपूर्ण छन् । झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही–केही आरोप–प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्त्व छ ।
आज जतिबेला मासडिस्ट्रक्शनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्दछ र काम गर्नुपर्दछ । यस प्रसङ्गमा केही शताब्दीहरू बितेपछि बुद्धिज्म फैलिने क्रममा कतै पुुग्यो र महायानको रूपमा रह्यो, कतै पुग्यो थेरवादको रूपमा रह्यो, कतै पुग्यो बज्रयानको रूपमा रह्यो । सबै यानका सानातिना भिन्नताहरू भए पनि मूल कुरा बुद्धका उपदेश हुन्, शान्तिका उपदेश हुन्, मानवतावादका उपदेश हुन् र करुणाका उपदेश हुन् । त्यसकारण, मुख्य कुरा यसमा हामी जानुपर्दछ । र, डिफरेन्सेसमा होइन, बुद्धका मुख्य उपदेशहरू र आर्दशहरूलाई हामीले समाउनुपर्दछ ।’
यसप्रकार, ओलीले बुद्धको शान्तिको उपदेशको सान्दर्भिकता प्रस्ट गर्न भारत–पाकिस्तानले लिएको युद्धविरामको निर्णयको प्रसङ्गको सहायता लिएको देखिन्छ । समसामयिक घटना हुनाले पनि ओलीले सो प्रसङ्ग लिएका हुन् भन्ने बुझ्न गाह्रो छैन ।
तसर्थ, यही विषयलाई लिएर अहिले भइरहेजस्तो ओलीको आलोचना गर्नुको औचित्य देखिँदैन । यो कुरा सत्य हो कि देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले आफ्नो धारणा सुस्पष्ट राख्नुपर्छ, ताकि त्यसले जनमानसमा भ्रम सिर्जना नगरोस् । तर, अभिव्यक्तिलाई तोडमोड गरेर मूल आशय नै अर्कै भएको जस्तो गरी ओलीका विरुद्ध अहिले भइरहेको नकारात्मक प्रचारबाजी भने निन्दनीय छ ।
किन त ? सबैले बुझेकै कुरा हो, भारत र पाकिस्तानबीचको सङ्घर्ष रोकिनुमा संयुक्त राज्य अमेरिकाको निर्णायक भूमिका छ । अमेरिकाको मुख्य मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति जनाएका हुन् । यसबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धको महत्त्व थाहा लाग्छ । युद्धविराम भएकै दिन (मे १०) सम्म आपसमा द्वन्द्वमा रहेका भारत र पाकिस्तान अमेरिकी कूटनीतिक पहलपछि नाटकीय रूपमा ‘तत्काल र पूर्ण युद्धविराम’ का लागि सहमत भए भने सोही दिनदेखि दुई देशबीचको युद्धविराम सहमतिसमेत लागू भएको थियो ।
यसै सन्दर्भमा नेपालले पनि ‘प्रेस नोट’ जारी गरेर आतङ्कवादको विरोध जनाएको थियो । साथै, नेपालले क्षेत्रीय तनाव चाँडै घट्ने आशा व्यक्त गर्दै यस क्षेत्रको दिगो शान्ति तथा स्थायित्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको थियो । यसका अतिरिक्त नेपालको संसद्मा पनि सांसदहरूले दुई देशबीचको द्वन्द्व चाँडै अन्त्य हुनुपर्नेमा जोड दिँदै द्वन्द्व रोक्न आग्रह गरेका थिए । ती आग्रहहरू पनि शान्ति कायम गर्ने पक्षमै थिए । र, यी पनि भारत र पाकिस्तानबीचको द्वन्द्व अन्त्य गर्नमा नेपालले गरेको समन्वय नै हुन् । यस मामिलामा नेपालले ‘कुनै पहल नै नगरेको वा गरेको पहलको पनि प्रभाव शून्य हुने’ जस्तो गरी नेपाली नागरिकले नै गलत प्रचारबाजी गर्नु दुःखद मात्रै होइन, लज्जास्पदसमेत हो ।
भ्रम के पनि राख्नु हुँदैन भने भारत र पाकिस्तानबीचको द्वन्द्व अमेरिकाको एकल प्रयासले रोकिएको होइन । द्वन्द्व अशान्ति हो । सबै देशको चाहना शान्ति हो । सिङ्गो ब्रह्माण्डको पहिलो आवश्यकता नै शान्ति हो । द्वन्द्व वा अशान्तिले सम्बन्धित पक्षलाई मात्र होइन, धेरथोर सिङ्गो विश्वलाई असर गर्छ । अन्तर्राष्ट्रिय समुदायको दबाब, आफ्नै केही जिम्मेवारी र बाध्यताले भारत र पाकिस्तान आपसी द्वन्द्व अन्त्य गर्ने निर्णयमा पुगेका हुन् । भलै अमेरिकाको निर्णायक भूमिका रहेको भनिएको छ, तर त्यसमा नेपालको समन्वयको पनि केही अंश पक्कै छ ।
स्मरणीय छ, नेपाली समाजमा एउटा यस्तो प्रवृत्तिको जत्था पनि छ, जसलाई सकारात्मक कुरामै पनि भए–नभएको खोट खोजेर आलोचना नगरी खाएकै पच्दैन । उनीहरूका लागि सिङ्गो चन्द्रमा अनि चन्द्रमाले दिने उज्यालो प्रकाश गौण बन्छ भने चन्द्रमामा रहेको सानो कालो धब्बा प्रधान विषय हुन्छ ।
विषयको गाम्भीर्यता बुझ्ने हो भने अहिले नेपालमा भारत–पाकिस्तान द्वन्द्वबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर जसरी उनको आलोचना गरिँदैछ, यो देशहितको विरुद्धमा पनि छ । किनभने, यो नकारात्मक प्रचारबाजीले अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश प्रवाह गर्छ । जसको फलस्वरूप भारत र पाकिस्तानसँगको नेपालको कूटनीतिक सम्बन्धमा समेत आँच आउन सक्छ । ओली केवल एक व्यक्ति मात्रै होइनन्, उनी देशका कार्यकारी प्रमुखसमेत हुन् । उनी आफैँ पनि बढी जिम्मेवार हुनुपर्ने विषय त छँदैछ, तर कोही कसैले पनि सारा जिम्मेवारी उनैको मात्र हुने अथवा देशका लागि आफ्नो केही जिम्मेवारी नरहेको जस्तो ठान्नु मूर्खतापूर्ण हो ।
सिक्नुपर्ने विषय यो पनि हो कि विकसित देशहरू आफ्ना कमजोरी देखाउँदैनन् । अपवादबाहेक उनीहरूका सबल पक्ष मात्र अन्तर्राष्ट्रिय समुदायसम्म पुग्छन् । तर, नेपालमा भने अवस्था यसको विपरीत छ । हामीले देशको विषयलाई देशभित्रै सीमित गरेर अन्तर्राष्ट्रिय समुदायले गरिरहेको सकारात्मक अभ्यास अवलम्बन गर्नुपर्ने आजको आवश्यकता हो भने यो पनि एकप्रकारको विकास नै हो ।
हेर्नुहाेस् भिडिओ–
यी समाचारहरू पनि पढ्नुहोस्–
‘मास डिस्ट्रक्शनका हतियारहरू मानव र धर्तीको अस्तित्वका लागि खतरनाक चिज हुन्’
युद्धविरामपछिकाे वार्तामा भारत र पाकिस्तानबीच के विषयमा भयो छलफल र सहमति ?
FACEBOOK COMMENTS