काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । बिहीबार बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना भइरहेको छ ।
हालसम्म ५० प्रतिशत मतगणना गरिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल ६१३ मत ल्याउँदा उनका प्रतिद्धन्दी सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन् हालसम्म एक हजार १३९ मतगणना गरिएको हो ।
मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् । यो पटक कुल दुई हजार २६३ मतदाता थिए । दुई हजार २२७ प्रतिनिधिले मतदान गरे । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ । १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।
बुधबार (पुस १) बिहान करिब सवा ९ बजेदेखि मतदान थालिएको थियो । बिहीबार (पुस ३) बिहान मतदान सकिएको हो । गएको मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित चौरमा महाधिवेशन उद्घाटन गरिएको थियो ।
त्यसको भोलिपल्टदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु गरिएको थियो । मंसिर २९ गते महाधिवेशन सकाउने पूर्वनिर्धारित तालिका थियो । तर, मतदानमा ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।

FACEBOOK COMMENTS