सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको छ ।
यस अवसरमा म सबै अभिभावक तथा सरोकारवालाहरूलाई यो अभियानलाई सफल पार्न आग्रह गर्दै नयाँ वर्ष विक्रम सम्वत् २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसङ्ख्या करिब २० प्रतिशत रहेको छ । यो हाम्रा निम्ति दुःखको कुरा हो । गरिबीलाई न्यूनीकरण नगरी हामी हाम्रो राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो ।
हामीले हाम्रा बालबालिकाहरूलाई अब पनि विद्यालयबाहिर राख्न सक्दैनौं । अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको छ । यसमा थप सुधार गर्न शिक्षालाई स्थानीय ज्ञान, सिप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवम् स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेछ । यसका लागि प्राविधिक शिक्षा एवम् व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील र सिपयुक्त जनशक्ति निर्माण हाम्रो प्राथमिकतामा रहेको छ ।
शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ ।
अहिले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको छ । यसैगरी भएको लगानी र स्रोत साधनको प्रभावकारी एवम् रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ ।
आफूसँग भएको विद्यालाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता हो । ज्ञानलाई व्यवहारिकरूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ । हामी शिक्षित भएर मात्रै हुँदैन विनयशील पनि हुनुपर्दछ । आजको शिक्षाले व्यक्ति स्वयम्प्रति, परिवारप्रति, राष्ट्रप्रति र अन्तर्राष्ट्रिय समुदायप्रतिको दायित्व बोध गराउन सक्नु पर्दछ । त्यसतर्फ हाम्रा प्रयासहरू केन्द्रित गराउनु अहिलेको आवश्यकता हो ।
मेरो नेतृत्वको अघिल्लो सरकारले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त अभियान चलाएको थियो । अहिले पनि यसलाई निरन्तरता दिइएको छ । यस्तो उर्वर देशमा अझै पनि मानिस वा बालबालिका बेहाल अवस्थामा सडकमा रहनु हाम्रा निम्ति शोभनीय कुरा होइन । त्यसैले बालबालिकाहरू अभिभावकविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले अभियानात्मक कार्यहरू अघि बढाइरहेको छ । यस अभियानले पनि विद्यार्थी भर्ना अभियानलाई सहयोग पुग्ने अपेक्षा गरेको छु ।
सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा साधारण/प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थाहरूलाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनु पर्दछ । समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरू लाग्नुपर्ने छ ।
अन्त्यमा, विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका निम्ति यहाँहरू सबैको ठूलो सहयोगको अपेक्षा गर्दै सबै बालबालिकाहरूको उज्जवल भविष्यको कामना गर्दछु ।
१ वैशाख, २०८२
(शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देश ।)
FACEBOOK COMMENTS