काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा बाँकी केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा आफू आवश्यक कामका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले अध्यक्ष ओलीलाई सम्बोधन गरेर आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
उनले बैठकमा अनुपस्थित हुनेबारे पहिले नै जानकारी गराएको बताएका छन् । भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनेको बताएका छन् ।
यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गरेर राष्ट्रिय जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ । असोजको पहिलो साता सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि आफूहरूले यी विषयमा पर्याप्त छलफल गरेको उनले स्मरण गराएका छन् ।
जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने तथा वडा र पालिका तहका अधिवेशन आयोजना गर्ने निर्णय गरेको उल्लेख गर्दै भट्टराईले संगठनात्मक प्रक्रियामार्फत पार्टीलाई गतिशील बनाउन र आन्तरिक तथा राष्ट्रिय महत्त्वका विषयमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्न यसले सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

तर, यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकमा ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा प्राथमिकता दिनुपर्ने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताको मिश्रणसहित स्पष्ट मापदण्ड बनाउनुपर्ने विषय उठाए पनि निर्णयले त्यसको भावना समेट्न नसकेको उनले बताएका छन् । त्यसले अपेक्षित सकारात्मक ऊर्जा पैदा गर्न नसकेको उनको भनाइ छ ।

जारी स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको कार्यसूची रहेकाले भट्टराईले तीनवटा विषयमा अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।

उनले बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्ने, विगतमा छुटेका भूगोल र समुदायको प्रतिनिधित्व तथा पार्टीभित्रको आन्तरिक सन्तुलनलाई ध्यान दिनुपर्ने बताएका छन् ।
त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउनुपर्नेमा उनले जोड दिएका छन् । आसन्न निर्वाचनसहितका चुनौती सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गर्दै भट्टराईले पार्टी एकतालाई खण्डित गर्ने निर्णय नगर्न सचेत गराएका छन् ।
उनले हतारमा निर्णय गरेर पछि पछुताउनुपर्ने अवस्था आउन नदिन पनि आग्रह गरेका छन् । यदि सहमतिपूर्ण निर्णय हुन नसक्ने अवस्था भए केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनसम्बन्धी विषय केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने उनको सुझाव छ ।