काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग गरेको छ।
हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुन:स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले आर्थिक सहयोग गरेको हो।
साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रूपैयाँबराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ।
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन्। प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी बैंकले उक्त सहयोग प्रदान गरेको हो।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुन:स्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ।