तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैङ्क कार्यान्वयनमा ल्याएको छ । श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि श्रम बैंक सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ ।
श्रम बैङ्कमार्फत कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले सहजीकरण गर्ने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । यसैगरी गाउँपालिकाभित्र रहेका सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरू र रोजगारदाताको विवरण एकीकृत रूपमा तयार गरी रोजगार विनिमयकार्य गर्ने निर्णय भएको उनले जानकारी दिए ।
“यहाँका युवालाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन श्रमबजार र मागमा आधारित रोजगारमूलक सीप विकास कार्यक्रम सञ्चालन गरिने छ । कामको खोजीमा रहेका व्यक्ति र रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न इच्छुक व्यक्तिले ‘क्युआर स्क्यान’ गरी गुगल फर्मको लिङ्कमा गएर, वडा कार्यालयमार्फत् वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सक्नेछन्”, अध्यक्ष थापाले भने ।
गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले श्रम बैङ्क सञ्चालनपछि रोजगारी प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको बताए ।
FACEBOOK COMMENTS