विराटनगर । कोशी प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलनको तयारी पूरा भएको छ ।
प्रदेश सरकारद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले बिहीबारबाट सुरु हुने दुई दिवसीय सम्मेलनको तयारी पूरा भएको जानकारी दिए ।
पहिलोपटक हुन लागेको सम्मेलनका बारेमा जानकारी दिँदै कार्यकारी निर्देशक डा। कोइरालाले सम्मेलनमा १० करोड माथिका ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’ गरिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर सम्मेलनले प्रदेशमा रहेका लगानीका सम्भावनाका आधारहरुलाई उजागर गर्ने र प्रदेशका लागि सम्मेलन उपलब्धिमूलक हुने अपेक्षा गरेको उनले बताए ।
सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका परियोजनाहरु ‘सोकेसिङ’ गरिएको छ । करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ लागत खर्च लाग्ने अपेक्षा गरेको बताउँदै उनले भने,’लगानी सम्मेलनले प्रदेशको उद्योग, कृषि, उर्जा, पूर्वाधार र सूचना प्रविधीलाई प्राथमिकतामा राखिएको छ । सम्मेलनका लागि निर्धारण गरिएका परियोजनाहरुलाई सफल बनाउन सरकारले समेत विभिन्न ८ वटा कानुन अध्यादेशबाट संशोधन गरेको छ । लगानी सम्मेलनले स्वदेशीसँग विदेशीलाई समेत आकर्षित गर्ने सरकारको बुझाई छ ।’
कार्यकारी निर्देशक डा। कोइरालाले सम्मेलनमा अमेरिका, भारत, चीन, रुस, अमेरिका, तथा दक्षिण कोरियालगायतबाट लगानीकर्ता र गैरआवासीय नेपाली तथा स्वदेशका प्रतिष्ठित उद्योगपतिहरूको सहभागिता रहने बताए । सम्मेलनमा विभिन्न ६ वटा विषयगत छलफल सञ्चालन हुने बताउँदै उनले प्रदेशको सम्भावना रहेको पर्यटन र कृषि, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतमा केन्द्रीत हुने जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले सम्मेलनमा राखिएका परियोजनाहरूलाई सम्पन्न गर्न सरकारले केन्द्रीय सरकारसँग पनि समन्वय गरेको जानकारी दिए ।
यसक्रममा केन्द्रीय सरकारले पनि कतिपय कानुनहरू संशोधन गरिसकेको मन्त्री भण्डारीले जानकारी दिए ।
FACEBOOK COMMENTS