काठमाडौं ।लक्ष्मी बैंक लिमिटेडले असार २८ गते सोमवारदेखि सार्वजनिक निष्कासनमा ल्याएको साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र साउन ५ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले छिटो अवधि असार ३१ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ११ गतेसम्मको मिति तोकेको थियो । साउन ४ गतेभित्र माग बमोजिम आवेदन परिसकेकाले साउन ५ गतेसम्म विक्री खुला गर्ने जानकारी बैंकले दिएको हो ।
बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित मूल्यमा “८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८” नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो । कुल कित्तामध्य रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ताभने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
यो ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरिदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी प्लस” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले बैंक समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्ययम सुरक्षित अवस्थामा रहेको समेत संकेत गर्दछ ।
FACEBOOK COMMENTS